दिवस एक्स ##
अक्टोबर ७, २०२३ देखि इजरायलद्वारा प्यालेस्टाइनमाथि नरसंहार भइरहेको छ । यो नरसंहारको कारक मुद्दा आखिर के हो ? हाल इजरायलले गरिरहेको नरसंहार कुन दिशातर्फ गइरहेको छ भन्ने सवाल अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ । इजरायलले नरसंहार नै निम्त्याएर विध्वंस मच्चाइरहेको यो मुद्दाको जरामा पुग्न हामीले केही भ्रम चिर्न आवश्यक छ । भ्रम चिर्न इजरायल–प्यालेस्टाइनको विषयमा रेडिमेट उत्तर दिनु अथवा एआईको भाष्य बोल्नुभन्दा एक कदम पछि हटेर केही प्रश्नलाई पुनर्परिभाषित गर्न आवश्यक छ किनकि प्रश्नै गलत भए सही उत्तर सायदै भेटिन्छ ।
पहिलो कुरा त, हामीले इजरायल र प्यालेस्टाइनको अहिलेको भूगोलको रूपरेखा हेरौँ । प्यालेस्टाइनको दक्षिण–पश्चिममा गाजा क्षेत्र छ । पूर्वमा वेस्ट बैङ्क छ । वेस्ट बैङ्क जोर्डन नदीसँग जोडिएको छ, गाजा क्षेत्र समुद्रसँग । गाजा र वेस्ट बैङ्कको बिचमा छ इजरायल ।
भौगोलिक हिसाबले प्यालेस्टाइन पूर्ण रूपमा इजरायलको नियन्त्रणमा छ । भौगोलिक हिसाबले मात्रै होइन, राजनीतिक हिसाबले पनि इजरायलको अनुकूलतामा छ प्यालेस्टाइन । यही सुविधाको फाइदा उठाउँदै इजरायलले अहिले प्यालेस्टाइनमा विध्वंस मच्चाइरहेको छ ।
गाजा क्षेत्रमा हमासको प्रभाव छ, वेस्ट बैङ्कमा प्यालेस्टाइनी अधिकारीहरूको तर कुनै समय अहिलेको इजरायल–प्यालेस्टाइनको भूभागभरि फैलिएका प्यालेस्टाइनीलाई आप्रवासी यहुदीले लखेट्दै लखेट्दै यही सानो क्षेत्रभित्र सीमित गरेका छन् । सँगै लाखौँ प्यालेस्टाइनीको जग्गाजमिन, घर हडपेर उनीहरूलाई विभिन्न देशमा शरणार्थी बनाइएको छ ।
यो आलेख तिनै निहत्था प्यालेस्टाइनी जनताले भोगिरहेको दु:खलाई सरल ढङ्गबाट केलाउन खोजिएको हो । पश्चिमा मिडियाले प्रचार गरे जस्तो इजरायल–प्यालेस्टाइनको मुद्दा जटिल छैन । इजरायल–प्यालेस्टाइन युद्ध धार्मिक होइन, यो उपनिवेशवादी परियोजनामा आधरित द्वन्द्व हो ।
प्यालेस्टाइन–इजरायल युद्ध धार्मिक होइन
इजरायल–प्यालेस्टाइन युद्धमा देखिएको धर्म त आवरण मात्रै हो । अहिलेको मेडिटेरियन समुद्रदेखि जोर्डन नदीको किनारसम्मलाई हालको इजरायल–प्यालेस्टाइन भूभाग भनिन्छ । त्यहाँ इसाई, इस्लाम र यहुदी धर्मावलम्बी बसोबास गर्दै आएका छन् । यस क्षेत्रमा सातौँ शताब्दीयता मुसलमानको बाहुल्य रहे तापनि प्राचीनकालदेखि नै इसाई र यहुदी पनि शान्तिपूर्ण तबरले बसोबास गर्दै आएका छन् । गाजा क्षेत्रमा नेतृत्व गरिरहेको हमासका प्रवक्ता अबु उवैदाले भनेका छन्– ‘अरू कोही मुस्लिमले नै हाम्रो जग्गा कब्जा गरेर हामीलाई शरणार्थी बनाएको भए पनि हामी उनीहरूको विरुद्ध उत्रिने थियौँ, जसरी आज इजरायलको विरोध गरिरहेका छौँ ।’
परबाट हेर्दा इजरायलले मुस्लिमलाई निशाना बनाएको देखिए पनि गाजाका चर्चमा पनि लगातार वबबारी गर्ने गरेको छ । यसकारणले पनि यो लडाइँ यहुदी र मुस्लिमबिचको हुँदै होइन तर पश्चिमा उदारवादी समाज, युरोपलगायत पूर्वसाम्राज्यवादी शक्तिले यही धार्मिक भाष्यमा जोडतोड गरिरहेका छन् । पश्चिमाको यो नीतिले एकातिर गैरमुस्लिमबाट सहानुभूति पाउन सजिलो हुन्छ भने अर्कातिर हमासलाई आतङ्कवादी ट्याग लगाउन सहज भएर जान्छ । सँगै पश्चिमा उपनिवेशवादको प्रश्न ओझेलमा पर्छ भने धर्मको भाष्य मुखर रूपमा अगाडि आउँछ ।
यसर्थ इजरायल–प्यालेस्टाइन मामलामा तीन हजार वर्ष पुरानो ओल्ड टेस्टामेन्ट (पुरानो बाइबल) पनि जोड्ने गरिएको छ । ओल्ड टेस्टामेन्टले यहुदीको थातथलो र उनीहरूले पाएको सास्तीलाई उल्लेख गरेको छ तर ओल्ड टेस्टामेन्टको प्रसङ्ग हजारौँ वर्ष पुरानो भए तापनि अहिले यसलाई गलत अभिप्रायले जोड्ने गरिएको छ ।
इजरायलका यहुदी बिब्लिकल यहुदी हुन् । यी यहुदीले तीन हजार वर्षअगाडि कठोर सास्ती भोगेका थिए, जुन सास्ती गैरयहुदीले दिएका थिए । यस प्रसङ्ग ओल्ड टेस्टामेन्टमा उल्लेख छ । सँगै अर्काथरिका आस्कानाजी यहुदी निकै पछि पूर्वी युरोपमा देखा परे । यिनीहरूको मध्यपूर्वका बिब्लिकल यहुदीसँग कुनै किसिमको साइनो थिएन । आस्कानाजीले आफूलाई इजरायलकै यहुदी दाबी गरे पनि अहिलेसम्म वैज्ञानिक प्रमाण भेटिएको छैन (सोलोमन सान्ड, द इन्भेन्सन अफ द जिउज पिपल) ।
जेनेटिक साइन्सले पनि उनीहरूको पुर्खा पूर्वी युरोपकै भएको सङ्केत गर्छ । सोलम स्यान्ड जस्ता यहुदीविज्ञले आस्कानाजीलाई युरोपको खजार राज्यसँग जोडेर हेर्ने गर्छन् । आस्कानाजी यहुदी इजरायल आउनुअघि युरोपका विभिन्न मुलुकमा छरिएर रहेका थिए तर यदि उनीहरू बिब्लिकन समयमा त्यहीँको हुन्थे भने पनि तीन हजार वर्षपछि आएर प्यालेस्टाइनी जनताले भोगचलन गरिरहेको क्षेत्र दाबी गर्न सुहाउँदैन ।
इजरायलको नरसंहार र हमासको उदय
सन् १९८७ मा इजरायलको उपनिवेशवाद विरुद्ध उदय भएको प्रतिरोधी शक्ति हो हमास । सन् २००६ को निर्वाचनमा गाजाका जनताले हमासलाई अनुमोदनसमेत गरेका थिए । प्यालेस्टाइनी जनताको एउटा पकड क्षेत्र हो गाजा । यहाँ हमासको दरिलो प्रभाव थियो ।
त्यसैले यिनीहरूले सन् २००६ को निर्वाचन जितेका थिए । हमासले प्यालेस्टाइनको एउटा भूगोलमा आफ्नो प्रभुत्व जमाए पनि प्यालेस्टाइनी जनता र आप्रवासी यहुदीको युद्ध सन् १९३० देखि नै चलिरहेको थियो । पछि सन् १९४८ मा आप्रवासी यहुदीले कब्जा गरेको भूगोल इजरायल देशको रूपमा घोषणा भयो । यसपछि इजरायली र प्यालेस्टाइनीबिचको युद्ध झनै सघन बनेर गयो । यही क्रममा हमासको जन्म भएको हो ।
अहिले इजरालले प्यालेस्टाइनमा गरिरहेको हमला हमास विरुद्ध हो भन्ने भाष्य निर्माण गरिरहेको छ । यो सरासर गलत हो जबकि हमासको प्रभाव शून्यप्राय भएको प्यालेस्टाइनको वेस्ट बैङ्क (पश्चिमी किनारा) मा पनि इजरायलले नरसंहार गरिरहेको छ । यस क्षेत्रमा प्यालेस्टाइनी अधिकारीले नेतृत्व गरिरहेका छन् । उनीहरू राजनीतिक रूपमा हमासभन्दा फरक शक्ति हुन् । त्यसैले इजरायलले पश्चिमी मुलुकको आडमा भनिरहे जस्तो यो युद्ध हमास विरुद्ध नभएर सर्वसाधारण प्यालेस्टाइनी जनता विरुद्ध हो । बिसौँ हजारको सङ्ख्यामा निहत्था प्यालेस्टाइनी जनताको कत्लेआमले यसको पुष्टि गर्छ । त्यसैले यो लडाइँ प्रचार गरिए जस्तो धार्मिक नभएर नितान्त आप्रवासी यहुदी र मूलबासी अर्थात् प्यालेस्टाइनी जनताबिचको हो ।
प्यालेस्टाइनको दुवै क्षेत्रलाई इजरायलले घेरेको छ । भौगोलिक हिसाबले इजरायलको घेराबन्दीमा परेको प्यालेस्टाइन सम्पूर्ण रूपमा इजरायलमा भर पर्नुपर्छ । इजरायलको नियन्त्रणमा रहेका प्यालेस्टाइनी जनताले नुनदेखि पानीसम्ममा इजरायलको भर पर्नुपर्छ । हिँडडुल गर्नलाई इजरायली सेनाले पास दिनुपर्छ नत्र प्यालेस्टानी जनता बाँच्न सक्ने अवस्था नै रहँदैन । उनीहरूको यही निरीह अवस्थाको फाइदा इजरायलले उठाइरहेको छ ।
इजरायलद्वारा वेस्ट बैङ्कको तुलनामा गाजा क्षेत्रलाई धेरै नै कडाइ गरिएको छ । सन् २००६ देखि पर्खाल नै लगाएर अघोषित नाकाबन्दी गरिएको छ । इजरायलले प्यालेस्टाइनी जनतालाई कति हदसम्म दमन गरेको छ भन्ने बुझ्न सन् ९० को दशकको उत्तराद्र्धमा इजरायलका प्रधानमन्त्री यहुद बारकले दिएको अभिव्यक्ति नै काफी हुन्छ । उनले गाजा क्षेत्रलाई एक्काइसौँ शताब्दीको खुला कारागारको सङ्ज्ञा दिएका थिए । त्यसैले अहिले अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै इजरायलले प्यालेस्टाइनी जनतामाथि गरिरहेको नरसंहार प्यालेस्टाइनी जनता विरुद्ध नै हो भन्ने पुष्टि गर्छ ।
प्यालेस्टाइनी राष्ट्रविहीन बनिरहे
प्यालेस्टाइनमाथि इजरायलको आरोप छ– धेरैपटक राज्य दिइँदा पनि प्यालेस्टाइनले लिएन तर यो इजरायलले बनाएको गलत भाष्य हो । कुनै समय प्यालेस्टाइनभरि १० प्रतिशत मात्रै बिब्लिकल यहुदी थिए । प्यालेस्टाइनी जनता र यहुदी मिलेरै बसिरहेका थिए तर बिचमा युरोपतिरबाट आस्कानाजी यहुदीको लगातार प्रवेश भयो । मुख्य कारण युरोपियन समाजमा हुने यहुदीप्रतिको घृणा हो तर युरोपबाट लागातार छिरिरहेका यहुदीले प्यालेस्टानमाथि प्रभुत्व जमाउँदै गए । युरोपबाट आएका आस्कानाजी यहुदीको प्रवेशको कथा भने सन् १९१७ मा गएर जोडिन्छ ।
सन् १९१७ मा बेलायती विदेशमन्त्री बेलफोरले आस्कानाजी यहुदीका नेता रोथ चायल्डलाई एक पत्र लेखेका थिए । उक्त पत्रमा उनीहरूलाई प्यालेस्टाइनको क्षेत्र प्रदान गर्ने उल्लेख गरिएको थियो । यसलाई इतिहासमा बेलफोर घोषणा भनिन्छ । बेलायतले आस्कानाजी यहुदीलाई प्यालेस्टाइन दिनुको कारण थियो– प्यालेस्टाइनमाथि बेलायतको औपनिवेशिक कूटनीति । तत्कालीन समयमा प्यालेस्टाइन अटोमन साम्राज्यभित्र पथ्र्यो । अटोमन साम्राज्यप्रति अरबी जनता रुष्ट थिए । यसको फाइदा उठाउँदै बेलायतले अरबीलाई अटोमनबाट मुक्त गर्ने सर्तमा प्रयोग गर्यो । यस बेला अटोमन र पश्चिमा गठनबन्धनबिच युद्ध भइरहेको थियो ।
अर्कातिर, युरोपका आस्कानाजी यहुदीले सन् १८९६ देखि आफ्नो छुट्टै राज्यको परिकल्पना गर्दै अभियान चलाइरहेका थिए । यसको नेतृत्व थियोडर हर्जेल भन्ने अस्ट्रियन नागरिकले गरिरहेका थिए । हर्जेलले अन्य धनी तथा व्यापारमा प्रभाव जमाएका आस्कानाजी यहुदीमार्फत् राज्य पाउनलाई लबिइङ गरिरहेका थिए । यहुदीको यो अभियानले युरोपको भौगोलिक राजनीतिमै असर गरिरहेको थियो । यसको कारण थियो– एकातिर यहुदी प्रभावशाली छँदै थिए, अर्कातिर युरोपका क्रिस्चियन समाजले उनीहरूलाई रुचाइरहेका थिएनन् ।
आस्कानाजी यहुदीको प्रभावलाई राम्रोसँग चिनेको बेलायतले उनीहरूलाई आफूअनुकूल प्रयोग गर्ने कोसिस गर्यो । यसैको परिणाम हो– सन् १९१७ को बेलफोर घोषणापत्र । आफूसँग हुँदै नभएको भूगोल आस्कानाजी यहुदी र अरबी जनतालाई बाँडेर अटोमन साम्राज्यलाई हराउन बेलायत सफल भयो । एक हिसाबले हेर्दा बेलफोर घोषणापत्रलाई बेलायतको सफल कूटनीति मान्न सकियो तर बेलायतको त्यही कूटनीतिक स्वार्थका कारण अहिले हजारौँ प्यालेस्टाइनी महिला, बालबालिका अनाहकमा मर्नु परिरहेको छ ।
बेलायतको दोहोरो नीतिले गर्दा युरोप र अमेरिकाबाट प्यालेस्टाइनमा प्रवेश गर्ने यहुदीको लर्को लाग्यो । दिन दुगुणा, रात चौगुणा लाखौँको सङ्ख्यामा बसाइँसराइ भयो । सन् १९१८ देखि १९२९ सम्ममा प्यालेस्टाइनमा १० प्रतिशतबाट यहुदीको सङ्ख्या २५ प्रतिशत हुन पुग्यो । यस बेलासम्म इजरायल भन्ने देश संसारको मानचित्रमै थिएन । थियो त केवल बेलायतशासित प्यालेस्टाइन तर यहुदीलाई बेलायतले दिएको छुट्टै राज्यको आश्वासन उसले पूरा गर्न सकेन, न अरबी जनतालाई दिएको मुक्तिको आश्वासन नै पूरा गर्यो । अटोमनबाट शासित अरबी जनता अब बेलायतको उपनिवेश र यहुदी आप्रवासीको चपेटामा परे । यसले धेरै शृङ्खलाबद्ध युद्ध निम्त्याइरह्यो ।
बेलायतले दुई जातबिचको युद्धलाई समाधान गर्न नसकेपछि सन् १९४७ मा आफूले सृजना गरेको समस्या संयुक्त राष्ट्र सङ्घलाई हस्तान्तरण गर्यो । राष्ट्र सङ्घले समस्या समाधानको नाममा प्यालेस्टाइनको भूगोललाई विभाजन गरिदियो । यस विभाजनमा पनि पश्चिमी मुलुकका आफ्नै स्वार्थ थिए । राष्ट्र सङ्घले प्यालेस्टाइनी भूगोललाई दुई टुक्रामा विभाजन गरिदियो । ५६ प्रतिशत भूभाग केही वर्षअघि मात्रै प्रवेश गरेका आस्कानाजी यहुदीलाई दिइयो । जति बेला यहुदीको सङ्ख्या ३० प्रतिशत पुगिसकेको थियो तर ७० प्रतिशत मूलबासी प्यालेस्टाइनी जनतालाई राष्ट्र सङ्घले ४४ प्रतिशत मात्रै भूभाग दियो, त्यो पनि कमसल भूभाग । उर्वर र सामरिक भूभाग यहुदीको पोल्टामा गयो ।
यहुदीले राष्ट्र सङ्घको निर्णय स्वीकार गरे, इजरायल घोषणा गरे तर यो अन्यायपूर्ण भूगोलको वितरण प्यालेस्टाइनी जनतालाई अस्वीकार्य थियो । यहुदीले इजरायल घोषणा गरे पनि प्यालेस्टाइनी जनताले पाएको भूभाग अतिक्रमण गर्न सुरु गरे । सन् १९६८ सम्म आइपुग्दा त पूरा प्यालेस्टाइन इजरायलको कब्जामा पुग्यो । यसबिचमा आप्रवासी यहुदीको आक्रमण र प्यालेस्टाइनी जनताको प्रतिरोध जारी रह्यो । अर्कातिर आप्रवासी आउने क्रम रोकिएको थिएन ।
सन् १९९३ मा आएर ओस्लो सम्झौता भयो । प्यालेस्टाइनी जनताको नेतृत्व र इजरायली प्रधानमन्त्री रोबिनबिच नर्वेको मध्यस्थतामा सम्झौता भयो । सम्झौताअनुसार इजरायल र प्यालेस्टाइनबिच राज्यसहितको भूभागको अवधारणा अगाडि सारिएको थियो तर यो सम्झौतालगत्तै इजरायली प्रधानमन्त्री रोबिनको उग्रवादी जायोनिस्टद्वारा हत्या गरियो । जायोनिस्ट तिनै थिए, जसको सुरुवाती नेतृत्व हर्जेलले युरोपमा गरेका थिए । हत्याको कारण एउटै थियो– रोबिनले प्यालेस्टाइनलाई पनि राज्य दिने सम्झौता गरेका थिए तर उग्रवादी जायोनिस्ट प्यालेस्टाइनी जनतालाई एक टुक्रा जमिन दिन तयार थिएन ।
अहिलेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उदय पनि रोबिनको हत्यापछि उग्र जायोनिस्टको तर्फबाट भएको देखिन्छ । नेतान्याहुको एक गोप्य भिडियो सार्वजनिक भएको छ, जहाँ ओस्लो सम्झौतालाई लागु हुनै नदिने प्रण गरेका छन् । रोबिनको हत्यापछि पनि प्यालेस्टाइनी जनतालाई राज्य दिने विषयमा संयुक्त राष्ट्र सङ्घमा पटक पटक प्रयास भए । हरेक प्रयासमा इजरायल र अमेरिकाले साथ दिएनन् । अमेरिकाले आफ्नो भिटो नै प्रयोग गर्यो । तसर्थ अमेरिकाको नीति भनेको जसरी हुन्छ, प्यालेस्टाइनी जनतालाई राष्ट्रविहीन बनाउनु हो । इजरायल त सधैँ यही चाहन्छ ।
इजरायल–प्यालेस्टाइन मुद्दा जटिल छैन
बजारमा एउटा भ्रम छ, इजरायल–प्यालेस्टाइन मुद्दा संसारकै जटिल विषय हो । यो इजरायलको पक्षपोषणका लागि पश्चिमा मिडियाले निर्माण गरेको भाष्य हो तर यथार्थमा यस्तो होइन । यो एक खालको प्रोपोगान्डा मात्रै हो । पश्चिमा मिडियाले इजरायल–प्यालेस्टाइन मुद्दालाई धार्मिक रङ दिँदै जटिल देखाए पनि यथार्थमा आप्रवासी यहुदीद्वारा प्यालेस्टाइनी जनताको घरगोठ, खलिहान, ओलिभ वृक्षको बगैँचा खोसेर युरोपियन आस्कानाजी यहुदीकोे राज्य खडा भएको हो ।
सन् १९४८ मा इजरायल राष्ट्र घोषणा हुँदै गर्दा नक्बा (अरबी भाषामा ठुलो तबाही) मच्चाएर प्यालेस्टाइनी जनताको पचासौँ सहर खाली गराइएको थियो । यति मात्रै होइन, नरसंहार नै मच्चाइएको थियो । यस बेला शान्तिको ठेक्का लिने अन्तर्राष्ट्रिय सङ्घसंस्था र मुलुक मूकदर्शक बनेका थिए । पछि आएर अमेरिकाले उल्टै इजरायललाई काखी च्यापेर हिँडेपछि इजराइल–प्यालेस्टाइन मुद्दा झनै पेचिलो बनेर गएको हो ।
इजरायल सरकारकै प्रतिनिधिले बेलाबेलामा दिने अभिव्यक्ति हो– ‘हामी कुनै पनि हालतमा प्यालेस्टाइनलाई राज्य दिँदैनौँ ।’ आफू त्यहाँको आदिवासी भएको प्रमाणस्वरूप कथित मुसा, जुडिया अनि डेबिड–गोलियातका कपोकल्पित कथा भट्याउने गरेका छन् । यथार्थमा मुसाले नेतृत्व गरेको पौराणिक यहुदी अहिलेका गोरा वर्णका इजरायली नभएर खासमा अरबी मूलकै मानिस (क्यानानाइट) हुन् भन्ने कुरा मानवशास्त्रले नै प्रमाणित गरिसकेको छ (रापेल फाल्क, जेरुसेलम युनिभर्सिटी) ।
यी ऐतिहासिक घटनाले के पुष्टि गर्छ भने बाहिर प्रचार गरिए जस्तो इजरायल–प्यालेस्टाइन मुद्दा जटिल छैन । यसलाई जटिल बनाउने काम इजरायली संस्थापन, अन्तर्राष्ट्रिय मिडिया र पश्चिमा शक्तिको हो । यो मुद्दालाई धार्मिक रङ दिने काम इजरायल स्वयम्ले गरेको हो । सन् १९८७ मा हमासको उदय भएसँगै इजरायलको संस्थापनले यसलाई एउटा अवसरको रूपमा लियो । हमास मुस्लिम थियो । अर्कातिर, प्यालेस्टाइनको पक्षमा सन् १९६० देखि लडिरहेको पी.एल.ओ. भने धर्मनिरपेक्ष प्रतिरोधी शक्ति थियो । पी.एल.ओ. इजरायल विरुद्ध लडिरहेको थियो ।
त्यसैले इजरायलले प्यालेस्टाइनलाई फुटाऊ र राज गरको नीतिअनुरूप हमासलाई नेतान्याहुले नै कतारमा गोप्य दूत पठाएर सहयोग गरेको प्रमाणित भइसकेको छ । यसमा इजरायली संस्थापनको एकै स्वार्थ थियो– इजरायल–प्यालेस्टाइन टकरावलाई धर्मको रङ दिनु किनभने धर्मको रङ दिनासाथ यो मुद्दा जटिल बनेर जान्थ्यो । मुद्दा जति जटिल बनेर जान्थ्यो, इजरायललाई उति नै फाइदा हुन्थ्यो । यसकारण विश्व भूराजनीतिमा यो मुद्दा सबैभन्दा सहज मुद्दा हो । यहाँ एक पक्ष मूलबासी छ भने अर्को पक्ष उपनिवेशवादी गोरा आप्रवासी छन् बरु जटिल मुद्दा त कस्मिर, नोर्गानो कार्वेच, युक्रेन जस्ता मुद्दा हुन् किनकि यहाँ दुवै पक्ष मूलबासी देखिन्छन् ।
फासिवादी कट्टर राष्ट्रवादले जन्माएको इजरायल
अरेबियन शब्दकोषमा इजरायल भन्ने शब्द प्रवेश गरिएको छ । यस शब्दको अर्थ हुन्छ– कसैको सम्पत्ति चोरेर आफ्नो बनाउनु । यस्तो काम कसले गर्छ ? कि त डाँकुले गर्छ कि आतङ्कवादीले । इजरायलको उपनिवेशवादी नीतिको मार्गनिर्देशक सिद्धान्तलाई जायोनिजम भनिन्छ । धेरैले यसलाई आतङ्कवादी नीतिसँग जोडेर हेर्ने गरेका छन् । एक हिसाबले जायोनिजम उग्रराष्ट्रवादी आतङ्कवाद नै हो । यसले अरूको विनासमा आफ्नो विकास देख्छ ।
यो आतङ्कवादी सिद्धान्तअनुसार अन्य जात, समुदायलाई मान्छे नै मान्दैन । आफूलाई भने भगवानले नै छनोट गरेको भन्ठान्छ । त्यसैले आजको इजरायली सरकार नै जायोनिस्ट हर्जेलको सपनाको मूर्त रूप हो । यसरी धार्मिक अतिवादी राज्य चाहने यहुदीले इजरायलमा शासन गरिरहेका छन् । अर्कातिर, यहुदीलाई धार्मिक कारणले सधैँ लखेट्न खोज्ने युरोपेली क्रिस्चियन राष्ट्र पनि इजरायललाई मध्यपूर्वमा ठेल्न पाएकोमा खुशी छन् ।
इजरायलका कारण युरोप र अमेरिकालाई अरबी भूमिमा हालीमुहाली गर्न र अन्तर्राष्ट्रिय भूराजनीति आफ्नो पक्षमा पार्न सहज भइरहेको छ । तसर्थ पश्चिमा गोराका लागि यो उपनिवेश एक काम दुई पन्थ हो । स्मरण रहोस्, ९० को दशकको अन्त्यतिर हालका अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका थिए– ‘यदि इजरायल थिएन भने पनि हामीले बनाउनैपर्ने हुन्थ्यो ।’
सबै यहुदी इजरायलको पक्षमा छैनन्
अर्को बिर्सनै नहुने तथ्य के हो भने संसारका सबै यहुदी इजरायलको पक्षमा छैनन् । आज लाखौँको सङ्ख्यामा युरोप र अमेरिकामा आस्कानाजी यहुदीले नै प्यालेस्टाइन मुक्त गर्न भनेर प्रदर्शन गरिरहेका छन् । उनीहरू इजरायललाई राज्य दिनु अन्याय थियो, इजरायल आतङ्कवादी जायोनिस्टको चङ्गुलमा फसेको र जुन यहुदी धर्मको मान्यता विरुद्ध भएको रबाइ डोबिड वेसजस्ता यहुदी धर्मगुरु तर्क गर्छन् ।
इजरायलभित्र पनि यस्ता यहुदी टोरा लिएर प्रदर्शन गरिरहेका छन् तर जेरुसेलम यहुदीको कब्जामा गए यशु फेरि आउने छन् भन्ने अनौठो मान्यता बोक्ने इसाई धर्मको एभान्जिकल (एउटा हाँगो) इजरायलको नि:शर्त समर्थन गरिरहेको छ । पश्चिममा भन्ने गरिन्छ कि ’यहुदीभन्दा इसाईमा जायोनिस्ट धेरै छन् । उनीहरू गोरावाद र पश्चिमी साम्राज्यवादको पनि कट्टर पक्षपाती छन् ।’
(काठमाडौँका विभिन्न क्याम्पसमा प्राध्यापनरत लेखकको यो सामग्री २०८० फागुन १२ गतेको नेपालप्रेस डट कमबाट लिएका हौँ ।)