काठमाडौँ । प्रतिनिधि सभाको २०८० फागुन १३ गते आइतबारको बैठकमा सांसदहरूले सहकारीपीडितको समस्या समाधान गर्न तथा विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सदनमा उठाइएका विषयवस्तुलाई तत्काल कार्यान्वयनमा ल्याउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
सांसद बिजुला रायमाझीले जनताका मागका सन्दर्भमा उठाइएका विषयलाई सम्बोधन गर्न माग गर्नुभयो ।
सांसद बिना लामाले मिटरब्याजपीडितको समस्या समाधान हुन नसकेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले दुग्ध किसानको माग सम्बोधन गरी उनीहरूले बिक्री गरेको दुधको पैसा भुक्तानी गर्नुपर्ने बताउनुभयो ।
सांसद विद्या भट्टराईले कास्कीका अधिकांश सहकारी समस्यामा परेको, सूर्यदर्शन सहकारीपीडितहरू सबैभन्दा बढी मारमा परेको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।
‘पोखरा महानगरमा तीन सय ६७ ओटा सहकारी छन् । त्यसमध्ये १६ ओटा सहकारी संस्थाको बचत जोखिममा रहेको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वयन आवश्यक छ’ उहाँले भन्नुभयो ।
सांसद विनिताकुमारी सिंहले मधेस प्रदेशमा साक्षरता दरमा सबैभन्दा पछाडि परेको, अनुगमनमा ध्यान नदिइएको, शिक्षामा लगानी कम भएकाले अपेक्षित प्रगति हुन नसकेको धारणा राख्नुभयो ।
सांसद विराजभक्त श्रेष्ठले श्रमजीवी पत्रकारले तोकिएको पारिश्रमिक पाउन नसकेको विषय सञ्चारमाध्यमदेखि सडकसम्म पुगेको उल्लेख गर्दै पत्रकारहरू विषम परिस्थितिमा पुगेको बताउनुभयो ।
सांसद श्यामकुमार घिमिरेले कमला नदीका कारण सिन्धुलीलगायतका जिल्ला नराम्ररी प्रभावित भए पनि नदी नियन्त्रणका लागि यथेष्ट बजेट विनियोजन हुन नसक्दा काम हुन नसकेको बताउनुभयो ।
सांसद सन्तोष परियारले सामुदायिक शिक्षाको विकास र विस्तारका लागि महत्त्वपूर्ण मानिएको भक्तपुरको ख्वप कलेजलाई विश्वविद्यालय बनाउने विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद हितराज पाण्डेले संसद् बैठकको प्रत्यक्ष प्रसारण हुने भएकाले जनताले सांसदको भूमिका, जिम्मेवारी स्पष्टसँग देखेको उल्लेख गर्दै उत्तरी गोरखाको विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पूर्वी नेपालमा किसानलाई बाँदरले ठुलो दु:ख दिएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरू शान्ति विक, शिव नेपाली, शिशिर खनाल, शोभा ज्ञवाली, सन्तोष चालिसे, सराज अहमद फारुकी, सरिता भुसाल, स्वर्णिम वाग्ले, शान्ति चौधरी, सीताकुमारी राना, सीता मिजार, सुनिता बराल, सुमना श्रेष्ठ, सुशीला श्रेष्ठ, सूर्यकुमारी श्रेष्ठ, सूर्यमान दोङ, हितबहादुर तामाङ, हेमराज राई, हृदयराम थानी, ज्ञानु बस्नेत सुवेदीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।