गाजा । मध्यगाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एक घरमा इजरायलले पुन: गरेको हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनी मारिएको र अन्य ३४ जना घाइते भएको स्थानीय चिकित्सा स्रोतले बताएको छ ।
स्रोतले उद्धार प्रयास जारी रहेको र हताहत हुनेमा महिला र बालबालिका पनि रहेको बताएको छ । पीडितलाई देइर अलबलाह सहरको अलअक्सा सहिद अस्पतालमा सारिएको छ ।
प्रत्यक्षदर्शीले एक इजराइली युद्धविमानले धेरै विस्थापित परिवारलाई आश्रय दिइरहेको घरमा अनेकौँ मिसाइल प्रहार गरेको बताएका छन् ।
ठुलो विस्फोटबाट भवन ध्वस्त भएको र शिविरको पश्चिमी भागमा छिमेकीको घरमा गम्भीर क्षति पुगेको छ ।
यसैबिच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले फेब्रुअरी २१, २०२४ का दिन विज्ञप्ति जारी गर्दै गाजापट्टीमा इजराइली आक्रमणमा मर्ने प्यालेस्टिनीको सङ्ख्या बढेर २९ हजार तीन सय १३ पुगेको र ६९ हजार तीन सय ३३ जना घाइते भएको जनाएको छ । (रासस/सिन्ह्वा)