काठमाडौँ । काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब बागमती प्रदेशसँग स्तब्ध भएको छ । बुधबार भएको खेलमा सूर्य तामाङको घातक बलिङमा आर्मीलाई ३ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।
आर्मीले दिएको ९८ रनको झिनो लक्ष्य बागमतीले २२.१ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।
बागमतीका लागि प्रतिश जिसीले बनाएको २१ रन नै सर्वाधिक रह्यो । २४ बलमा १ चौका र १ छक्का प्रहार गरेका प्रतिश २१ रनमा नटआउट रहे । रिजन ढकाल शुन्य रनमा अविजित रहे ।
अशोक पौडेलले २१ रन थपे। इसान पाण्डे र रविन जोशीले समान १२ रन थपे। विपिन आचार्यले १० रन थपे ।
आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । ७ ओभर बलिङ गरेका सोमपालले १ मेडन राख्दै २६ रन खर्चे ।
साहव आलम र जितेन्द्र मुखियाले समान दुई विकेट आफ्नो नाममा गरे ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा ९७ रन बनाउँदा अलआउट भयो ।
त्यसअघि खराब पिचका कारण खेल ४३ ओभरमा छोट्टाइएको थियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले बनाएको २८ रन नै सर्वाधिक रह्यो । भिम सार्कीले १८ रन थपे । विवेक यादवले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
आर्मीलाई कम स्कोरमा रोक्न बागमतीका लागि सुर्य तामाङ एक्लैले ५ विकेट लिए । ९ ओभर बलिङ गरेका सूर्यले २ मेडन राख्दै २६ रन खर्चे ।
प्रतिश जिसी र रिजन ढकालले समान २ विकेट लिए । किफायती बलिङ गरेका प्रतिशले ५.१ ओभरमा २ मेडन राख्दै मात्रत्र ८ रन दिए ।
कृजन गुरुङले एक विकेट आफ्नो नाममाम गरे ।
जितसँगै २ खेलमा जित र २ खेलमा हार भोगेको बागमती चार अंकमा तालिकाको चौथो स्थानमा छ । पराजित आर्मी एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अंकमा तालिकाको पाचौं स्थानमा छ।