काभ्रे । काभ्रेको पाँचखालमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ।
पाँचखाल नगरपालिका– ७ शिखरपुरको जंगलमा पुस २७ गते राति ति युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका ८ घर भइ हाल पाँचखाल नगरपालिका ७ मा डेरागरी बस्ने २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका ८ घर भइ पाँचखाल ७ बस्ने घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका ४ घर भई हाल पाँचखाल ७ बस्ने १९ वर्षीय अमर विक र १७ वर्षीय एक किशोर छन्।
उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट मंगलबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक धमेन्द्र अकौलियाले जानकारी दिए।
उनका अनुसार रसुवा माइती भएकी ती युवतीका पति घरमा छैनन्। उनीहरुले पुस २७ गते साँझ पाँचखाल नगरपालिका ७ शिखरपुरस्थित फुटबल ग्राउण्ड नजिकको झाडीमा लगेर युवतीलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।
मजदुरी गर्न गएकी ति युवतीका साथीहरु घर फर्किए पनि उनी राति अबेलासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए।
सामूहिक बलात्कारबाट बिछिप्त बनेकी ती युवतीले आत्महत्या गर्ने तयारी गरिरहेको अवस्थामा फेला पारिएको जानकारी आफन्तले प्रहरीलाई गराएका थिए ।