काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ, नेपालका केन्द्रीय सचिवालय सदस्य महेश रिजालको काठमाडौँ बाँसबारीस्थित गङ्गालाल हृदयरोग अस्पतालमा उपचार भइरहेको छ ।
मुटुसम्बन्धी समस्या देखिएपछि २०८० पुस २८ गते शनिबार दिउसो ३ बजेतिर उहाँ अस्पतालमा भर्ना हुनुभएको हो ।
रिजालको सहयोगमा खटिनुभएका राजमो कार्यकर्ता मदन पाण्डेका अनुसार उहाँको स्वास्थ्यावस्था सुधारोन्मुख छ ।
‘शनिबार उहाँ एयरपोर्टमा उत्रिँदा बोल्न सक्नुहुन्नथ्यो; हिँड्न सक्नुहुन्थ्यो; चर्को खोकी थियो’ पाण्डेले भन्नुभयो– ‘हाल उहाँको स्वास्थ्यावस्था सुधारोन्मुख छ । खोकी धेरै कम भएको छ तर खानामा अरुचि भने कायमै छ ।’
पाण्डेका अनुसार शनिबारको तुलनामा उहाँको स्वास्थ्यावस्था सामान्यतर्फ गइरहेको छ ।
अस्पतालमा रिजालको उपचार डा. रविन मल्लको टिमले गरिरहेको छ ।
पत्रकार रिजालको २०७६ सालमा ओपन हर्ट सर्जरी भएर मुटुमा पेसमेकर लगाइएको थियो ।
पुसका दोस्रो हप्तादेखि श्वासप्रश्वासमा समस्या बढेको, जिउ भारी भएको, खाना नरुचेको, चर्को खोकी लागेको, खुट्टा सुन्निएको जस्ता समस्यासँगै रिजाल पुस २३ गते भालुबाङमा चक्कर आएर लड्नुभएको थियो ।
पुस २४ गते भालुबाङ अस्पताल पुग्दा उहाँलाई बुटवलस्थित गौतम बुद्ध अस्पताल रेफर गरिएको थियो । गौतम बुद्ध अस्पतालले सुगर, प्रेसर बढेको र मुटुसम्बन्धी समस्या देखा परेको भन्दै गङ्गालाल हृदयरोग अस्पतालमा जान सुझाव दिएको थियो ।
त्यसको पाँच दिनपछि उहाँ काठमाडौँ आउनुभएको थियो । अस्पतालले इमर्जेन्सीमा भर्ना गरेर ई.सी.जी. लगायतका विभिन्न स्वास्थ्य परीक्षण गरेर औषधी चलाएको थियो ।