काठमाडौं । सत्तागठबन्धनका दलहरुसहित सात दलले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन अपिल गरेका छन् ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सात दलको बैठकले उम्मदेवारहरुको सूची सार्वजनिक गर्दै गठबन्धनको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको हो ।
बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बलियो बनाउनुपर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
गठबन्धनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदै छ। निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन्। राष्ट्रियसभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन्। यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनितिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो।’
गठबन्धनका उम्मेदवारलाई जिताउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नाउपा र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा विज्ञप्ति जारी गरी आफ्ना साझा उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन्।
अपिलमा उनीहरूले भनेका छन्, ‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौँ। देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो। देशको उन्नतिका लागि राजनीतिक स्थीरता पूर्वसर्त हो। लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि प्रतिबद्ध छौँ र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतीज्ञा गर्दछौँ।’
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जसपाका १ जना उम्मेदवार छन्।
यस्तो छ विज्ञप्ति
