काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछाने अब क्रिकेट प्रतियोगितामा सहभागी हुन नपाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरी उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नगराउने घोषणा गरेको हो ।।
सन्दीपलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय तोकेको छ ।
क्यानले विज्ञप्ति जारी गर्दै जबरजस्ती करणी मुद्दामा अदालतको फैसलाको सम्मान गर्दै सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको जानकारी दिएको हो।
‘सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०८० पौष १३ को फैसला र मिति २०८० पौष २५ गतेको कसुर ठहर आदेशबमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित आदलतको आदेशअनुसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारणसमेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौँ’, क्यानले भनेको छ।


