भरतपुर । चिसो बढ्दै गएपछि कारागार कार्यालय चितवनले नाबालक कैदीबन्दीसमेतलाई न्यानो कपडा वितरण गरेको छ ।
कार्यालयमा रहेका सात सय २३ कैदीबन्दी र उनीहरूसँग आश्रित चार बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जाडो समयमा सिरक, डसना र लगाउने न्यानो कपडाको व्यवस्था गरिएको छ । त्यस्तै चिसोले समस्या नहोस् भनेर आगो ताप्न दाउराको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
कार्यालयले महिला कैदीबन्दीलाई आगो ताप्नका लागि दाउराको व्यवस्थापन गरेको जनाएको छ । महिला कैदीबन्दीसँग चार नाबालक रहेकाले उनीहरूलाई लक्षित गर्दै दाउराको व्यवस्था गरिएको हो ।
यस कार्यालयमा अहिले ४२ महिला र छ सय ६१ पुरुष कैदीबन्दी रहेका आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले यस कार्यालयमा क्षमताभन्दा झन्डै दुई सय बढी कैदीबन्दी रहेका छन् । चार सय ७५ पुरुषको र ३० जना महिलाको क्षमता रहेको आचार्यले बताउनुभयो । यहाँ छिमेकी जिल्ला नवलपुर (नवलपरासी–बर्दघाट सुस्तापूर्व) बाट समेत कैदीबन्दी ल्याउने गरिएको उहाँको भनाइ थियो ।