लुम्बिनी । कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ ।
कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कन थालेको सङ्केत देखिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै यहाँ भारतीय पर्यटक पनि बढेका छन् । दुई वर्षअघि भारतीय प्रधानमन्त्री मोदीले बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गर्नुभएको थियो । त्यसयता मात्र लुम्बिनी आउने भारतीय पर्यटकको सङ्ख्या बढदो छ । भारतीय पर्यटकमात्र होइन आन्तरिक र तेस्रो मुलुकका पर्यटकको आगमन पनि पछिल्लो समय बढेको छ ।
भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणपछि अहिलेसम्मकै सबैभन्दा बढी भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । सन् २०२३ मा दुई लाख ६६ हजार पाँच सय १० भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । सबैभन्दा बढी डिसेम्बर महिनामा ४० हजार आठ सय ४२ र नोभेम्बर महिनामा २८ हजार आठ सय २७ जनाले लुम्बिनी भ्रमण गरेका लुम्बिनी विकास कोषको तथ्याङ्क छ । यसअघि सन् २०२२ मा दुई लाख ३० हजार आठ सय ६३ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यस अनुसार सबैभन्दा बढी डिसेम्बर महिनामा ४२ हजार एक सय १५ र नोभेम्बर महिनामा ३८ हजार छ सय ८९ जनाले लुम्बिनी भ्रमण गरेका लुम्बिनी विकास कोषको तथ्याङ्क छ ।
जबकि दुई वर्षअघि सन् २०२१ मा लुम्बिनी भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या जम्मा ४३ हजार सात सय ३२ र २०२० मा ३७ हजार २०६ जना भारतीय पर्यटक भ्रमणका लागि लुम्बिनी आएका थिए । “यसअघि यति धेरै सङ्ख्यामा भारतीय पर्यटक लुम्बिनीको भ्रमणमा आएका थिएनन्”, लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले भन्नुभयो, “मोदीको भ्रमण लुम्बिनीको ‘ब्रान्डिङ’ गर्न सहयोगी बन्यो ।” मोदीको लुम्बिनी भ्रमणबाट लुम्बिनीको भारतभरि प्रचारप्रसारमा महत्त्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ ।
भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको आगमन पनि बढ्दो छ । सन् २०२२ मा जम्मा २३ हजार नौ सय ४२ तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यो सङ्ख्या सन् २०२३ मा आइपुग्दा झण्डै तेब्बर बढी तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषको सूचना शाखाको तथ्याङ्कले देखाएको छ ।
कोषको तथ्याङ्कानुसार सन् २०२३ मा ७६ हजार दुई सय १० जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका छन् । यसमध्ये सबैभन्दा धेरै सार्क मुलुकअन्तर्गतको श्रीलङ्काबाट सोह्र हजार एक सय ७२ जना पर्यटकले लुम्बिनी भ्रमण गरेको सूचना शाखाले जनाएको छ ।
त्यसपछि थाइल्याण्डबाट १५ हजार सात सय २१, भियतनामबाट १० हजार चार सय १४ र म्यानमारबाट १० हजार तीन सय ७० जनाले लुम्बिनी भ्रमण गरेको तथ्याङ्क रहेको छ ।
सन् २०२१ मा जम्मा एक हजार एक सय ९७ जना तेस्रो मुलुकको पर्यटक लुम्बिनी पुगेका थिए । यो सङ्ख्या सन् २०२२ मा कैयौँ बढेर २३ हजार नौ सय ४२ पुगेको थियो भने त्यसको तीनगुणा बढी सन् २०२३ मा ७६ हजार दुई सय १० पुगेको छ । विदेशी पर्यटक अधिकांश भियतनाम, जर्मनी, फ्रान्स, चीन, रसिया, स्पेन, थाइल्याण्ड, युके र अमेरिकाका रहेका छन् । यीबाहेक तीन दर्जन बढी देशका पर्यटक पनि लुम्बिनी आएका छन् ।
आन्तरिक पर्यटक पनि बढे
लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार कोभिड महामारीका कारण बर्सेनि लाखौँको सङ्ख्यामा लुम्बिनी भ्रमणमा आउने आन्तरिक पर्यटक पनि ठप्पजस्तै रहेको थियो ।
कोभिड महामारी सुरु हुनु पहिले सन् २०१९ मा लुम्बिनी भ्रमणमा ११ लाख ७८ हजार एक सय ४० आन्तरिक पर्यटक आएका थिए । तर कोभिड सुरु भएपछि यो सङ्ख्या घटेर सन् २०२० मा दुई लाख १० हजार ३३ जना पुगेको थियो ।
कोभिडको सङ्क्रमणमा केही सुधार आएपछि भने लुम्बिनी भ्रमणमा आउने स्वदेशीको सङ्ख्यामा केही सुधार आएको देखिन्छ । यसअनुसार सन् २०२१ मा चार लाख ६३ हजार नौ सय ६३ जनाले भ्रमण गरेका थिए । यो सङ्ख्या क्रमस: बढेर सन् २०२२ मा छ लाख ४९ हजार ७८ र सन् २०२३ मा आइपुग्दा लुम्बिनी भ्रमणमा आउने स्वदेशी पर्यटकको सङ्ख्या बढेर छ लाख ५६ हजार दुई सय १८ पुगेको विकास कोषका सूचना शाखाको तथ्याङ्क रहेको छ । कोरोनापछिको अवस्थामा आन्तरिक तथा भारतीय पर्यटकसँगै तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या विस्तारै बढ्ने क्रममा छ । तर अपेक्षाकृत बढ्न नसकेको विकास कोषको सूचना अधिकृत बस्नेतले बताउनुहुन्छ ।
पर्यटक बढे, बसाइ लम्ब्याउने योजना छैन
पर्यटकको आगमन केही बढे पनि उनीहरुको बसाइ लुम्बिनीमा हुने गरेको छैन । प्राय: सबै पर्यटक भारतीय ट्राभल एजेन्सीमार्फत
आउने र सोही दिन भारतमै फर्किने गरेका छन् । गौतमबुद्धसँग जोडिएको अन्य तीर्थस्थल पर्यटकको रोजाइमा पर्ने गरेको छैन । वृहत्तर लुम्बिनीअन्तर्गत पर्ने तिलौराकोट, निग्लिहवा, गोटिहवा, सगरहवा, गौतमबुद्धको मावली देवदह एवं रामग्राममा अधिकांश पर्यटक पुग्नै पाउँदैनन् ।
यसका साथै बुटवल नारायणगढ सडकको कमजोर अवस्थाका कारण धेरै आन्तरिक पर्यटक आउन नचाहेको अध्यक्ष ज्ञवालीले बताउनुभयो । लुम्बिनीमा धेरै आन्तरिक पर्यटक आउने भनेको काठमाडौँ र पूर्वबाट हो । तर सडकको अवस्थाका कारण एकदमै कम आएको उहाँ बताउनुहुन्छ ।