काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारी इपिएस विद्यार्थीको मृत्यु भएको छ ।
२०८० पुस १३ गते शुक्रबार दिउसो प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुष हुन् ।
किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार घाइते भएर ल्याइएका एक पुरुष घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी परिसर ललितपुर दाबी गरेको छ ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ५८६१ नम्बरको गाडी जलाएका थिए ।
त्यस्तै आगजनीमा संलग्न १७ जनालाई प्रहरीले पक्राउसमेत गरेको छ । घटनामा केही आन्दोलनकारी घाइतेसमेत भएको बताइएको थियो ।





