काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने तीन भारतीयसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चोरीमा संलग्न तीन भारतीय र चोरीको सुन किन्ने तीनजना सुन पसले (नेपाली नागरिक) रहेका छन् ।
भारतको बैसाली जिल्ला उखिमारपुरका १८ वर्षीय घुच्ची भनिने संजिव बानिया (पोदार), भारतकै मोतिहारी राजापुरका १९ वर्षीय किसन गिरी, बिहार राज्यको समस्तिपुर जिल्ला मुरातपुर ग्रामका २१ वर्षीय कृष्ण पोदारलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरु तीनै जना हाल काठमाडौंको तिलगंगामा बस्ने गरेका छन्।
यस्तै, चोरीको सुन किन्ने नागार्जुनका ३० वर्षीय विक्रम गर्तौला, झापाको बाहुनडाँगी नगरपालिका–१८ घर भइ काठमाडौंको पुरानो बानेश्वर बस्ने २९ वर्षीय रमेश विश्वकर्मा र मोरङको सुन्दरहरैँचा–९ घर भइ हाल काठमाडौंको भीमसेनगोला बस्ने ३३ वर्षीय डिल्लीराम विश्वकमर्मा पनि पक्राउ परेका छन्।
भारतीयको समूहले गत असार १५ गते काठमाडौंको शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना गरी अन्दाजी १ तोला र नगद एक लाख ७० हजार रुपैयाँ चोरी गरेको थियो।
यस्तै, कात्तिक ५ गते विजयचोकस्थित बालकृष्ण श्रेष्ठको डेरा कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद गरी १३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो।
ती दुवै घटनाको अनुसन्धानको क्रममा चोरी कार्यमा संलग्न तीन जना भारतीय नागरिक मंगलबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत गौशला पठाइएको छ।