प्रा.डा. श्रीधर गौतम ##
लेनिनले आफ्ना कृतिमा जङ्गली साम्राज्यवाद (वाइल्ड इम्पेरियालिज्म) समाप्त नभएसम्म संसारभरमा शान्ति र सुव्यवस्थाको स्थापना हुन सक्दैन भनेका छन् । उनले उत्पीडित र उत्पीडकबिचको विभाजन संसारमा रहिरहँदासम्म साम्राज्यवादको अस्तित्व रहिरहने कुरा बताएका छन् ।
आजको विश्वमा साम्राज्यवाद कति खतरनाक हुन्छ भन्ने कुराको उदाहरणको रूपमा मध्यपूर्वमा र युक्रेनमा भएको युद्धलाई लिन सकिन्छ । यही मानवता विरोधी साम्राज्यवादको विरोधमा दुई महिनाअघि जर्मनीमा दुईओटा सम्मेलन सम्पन्न भए । जर्मनीको फ्रेन्कफर्ट सहरदेखि करिब २०० माइलको दुरीमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण शान्त रिसोर्टस्थलमा ती सम्मेलन सम्पन्न भए ।
गत ३१ अगस्तदेखि ३ सेप्टेम्बरसम्म पहिलो सम्मेलन अर्थात् अन्तर्राष्ट्रिय खानी मजदुरको तेस्रो सम्मेलन भयो । ३१ अगस्त बिहान सम्मेलन सुरु हुनुअघि डोर्नड्रर्फ भन्ने सानो सहरमा सम्मेलनमा भाग लिन आएका विभिन्न देशका प्रतिनिधि र सम्मेलन आयोजकले संयुक्त रूपमा विभिन्न नारासहित सहरको मुख्य मुख्य भागमा प्रदर्शन गर्ने काम भयो । हात हातमा प्लेकार्ड बोकेका सहभागीले एकातिर साम्राज्यवाद र नाफामुखी पुँजीवादले गर्दा पीडित र पीडक वर्गको बिचमा संसार बाँडिएको र अर्काेतिर, निश्चित वर्ग र व्यक्तिको स्वार्थपूर्तिको लागि पुँजीवादले संसारभरि वातावरणीय सङ्कट उत्पन्न गराएका कुरा माइकको माध्यमबाट उक्त सहरबासीसमक्ष सुनाएका थिए । आआफ्नो घरको झ्यालढोकामा आई स्थानीय जनताले पनि आफ्नो समर्थन गरेका थिए र कतिपयले आफ्ना गाडीलाई रोकी प्रदर्शनकारीलाई अगाडि बढ्न सघाइरहेका थिए । स्थानीय बाजागाजासहितको उक्त जुलुस करिब दुई घण्टापछि एउटा सभामा परिणत भयो र विभिन्न देशका वक्ताले आआफ्नो विचार राखे ।
नेपालबाट गएका हामी तीन जना (डा. मणिभद्र गौतम र अग्निधर पराजुली) सहभागी त्यसैमा सामेल हुन फ्रेन्कफर्ट हवाईअड्डाबाट सम्मेलन स्थलतर्फ सिधै नगई त्यही ठाउँमा पहिला पुग्यौँ र आआफ्नो ऐक्यबद्धता देखायौँ । उक्त सानो सहरमा एउटमा ठुलो खानी रहेछ र त्यहाँ हजारौँ मजदुरले काम गर्दा रहेछन् । त्यसैले प्रदर्शनका लागि त्यो ठाउँ रोजिएको रहेछ । पुलिसका गाडीहरू अघिपछि भए पनि तिनीहरूले प्रदर्शनमा बाधा पुर्याएनन् ।
डोर्नड्रर्फको कार्यक्रमपछि करिब ८० माइलको दुरीमा रहेका सांस्कृतिक घर (कल्चरल हाउस) मा अन्तर्राष्ट्रिय खानी मजदुरको उद्घाटन कार्यक्रम रहेको थियो । सहभागीले आआफ्ना नाम रजिस्टर्ड गराई आवश्यक शुल्क बुझाएपछि दिउँसो खाना खाने व्यवस्था त्यही मिलाइएको थियो । उक्त सांस्कृतिक घरमा जर्मनी र करिब ३७ देशका सहभागी उपस्थित थिए । सम्मेलनमा आउनेले र आयोजकले समेत आआफ्नो पार्टी र सङ्गठनको सहयोगको लागि केही सामान, किताब र खाद्यपदार्थ विक्रीमा राखेका थिए । एकार्का देशका साथीहरूले सामान किनी एकार्कालाई सहयोग गरेको दृश्यले आआफ्नो सङ्गठनलाई सघाउ पुग्ने गरी अन्तर्राष्ट्रिय भाइचारालाई बढाएको देखियो ।
रजिस्ट्रेसनको औपचारिक कार्यक्रमपछि स्थानीय समयअनुसार ४ बजे उद्घाटन समारोह सुरु भयो र त्यसमा लगभग सबै देशका एक एक जना प्रतिनिधिलाई निश्चित समय तोकी बोल्न दिइएको थियो । बिच बिचमा क्रान्तिकारी गीत, नाच र सांस्कृतिक झाँकी पनि देखाइएका थिए । जर्मन कम्युनिस्ट पार्टीका नेताहरूले सुरुमा र अन्तमा आआफ्नो विचार राखे । सबै प्रतिनिधिले आआफ्नो देशमा खानी मजदुरको अवस्थाका बारेमा प्रकाश पारेका थिए ।
उद्घाटन समारोहमा बिहानको प्रदर्शनमा जस्तै एसिया र युक्रेनका कामदार प्रतिनिधिले आआफ्ना कुरा राखे । उनीहरू युद्धका विरोधी थिए र युक्रेनमा भएको युद्धको कारणले सबैभन्दा बढी कामदार नै पीडित भएको कुरा बताए । उनीहरूले तुरुन्त युद्ध बन्द गर्नुपर्छ भन्ने कुरा राखे र फासिवाद र साम्राज्यवाद मजदुरको लागि शत्रु भएको विचार राखे । उनीहरूले मजदुरको जीवनमा कतिपय कठिनाइ आउने भएता पनि अन्तर्राष्ट्रिय ऐक्यबद्धता बढाई साम्राज्यवादलाई एक दिन परास्त गर्न सकिने विश्वास देखाए ।
उद्घाटन समारोहबाट मुख्य सम्मेलन स्थल करिब १०० माइल टाढा रहेछ । युरिन्गेन नाम रहेको यो ग्रामीण क्षेत्रमा हामी स्थानीय समायअनुरूप रातीको ९ बजे मात्र पुग्यौँ र अगाडि बुक गराइएका रिसोर्टका आआफ्ना कोठामा गयौँ ।
सम्मलनको दोस्रो दिन अर्थात् १ सेप्टेम्बर बिहानको १० बजेदेखि कार्यक्रम सुरु भयो । सुरु सुरुमा बोल्ने वक्ताले युक्रेन युद्धले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने खतरा भएको कुरा औल्याए । त्यसैगरी, उपभोग्य सामानको मूल्यवृद्धि र एकाधिकार पुँजीवादले जन्माएका विकृति पनि चर्चामा आए । पहिलो सत्रमा भएको कार्यक्रममा विभिन्न देशमा मजदुर आन्दोलनको दौरानमा मारिएका सहिद योद्धाको फोटो देखाइएको थियो र सहभागीले ती फोटो देखेपछि यू आर विथ अस अर्थात् ‘तिमी हामीसँगै छौँ’ भनी ऐक्यबद्धता देखाए ।
कार्यक्रममा बोल्ने सहभागीले आआफ्नो सङ्गठनलाई बलियो बनाउनुपर्ने कुरा उठाए र अन्तर्राष्ट्रिय आपसी सहयोगमा यस्ता कार्यक्रमको आयोजना गर्नुपर्ने कुरा राखेर वक्ताहरूले साम्राज्यवादीले भन्ने गरेको ‘मेरा देश पहिलो’ (माई कन्ट्री फस्र्ट) भन्ने सोचाइ खतरनाक भएको बताए र कसरी साम्राज्यवादी शक्तिले अविकसित र अर्थ विकसित मुलुकबाट कच्चा पदार्थ लुटेर लैजाने गरेका छन् भन्ने कुरा राखे । युक्रेन युद्धलाई दुई साम्राज्यवादी शक्तिबिचको लडाइँ भएकाले मजदुरले यसमा कुनै पक्षबाट पनि भाग लिन नहुने कुरा बताए । यसका साथै मजदुरले उचित ज्याला पाउनुपर्ने र स्वास्थ्य बिमा, पेन्सन आदि सुविधा पाउनुपर्ने कुरा पनि उक्त अवसरमा उठाइयो । अहिलेको अवस्थालाई परिवर्तन गर्न वैकल्पिक दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता पनि उठाइयो ।
दोस्रो सत्रमा सम्मेलनमा आफ्ना प्रतिनिधिले आआफ्नो देशका अवस्थाको बारेमा लिखित र मौखिक रूपमा पनि विवरण प्रस्तुत गरे ।
अल्वानियाको टिरानालगायत अन्य भागमा रहेका खानीमा काम गर्ने मजदुरलाई उचित पारिश्रमिक नदिइएको कुरा विशेष गरी उठाइयो ।
अफ्रिका मुलुकबाट आएका खानी मजदुरले पनि आफ्ना गुनासा राखे । फासिवादी नीति लिएका सरकारले मजदुरमाथि गरिएको हिंसाको पनि चर्चा भयो । कतिपय सहभागीले खानी उद्योगलाई पुँजीवादी शक्तिहरूले वातावरण प्रदूषित हुने गरी अर्थात् जल र वायु प्रदूषित हुने गरी चलाएका छन् र कतिपय मानिसलाई विस्थापितसमेत भएको कुरा उठाए ।
जर्जियाबाट आएका प्रतिनिधिले सोभियत सङ्घको जमानामा जर्जिया विकसित थियो तर आज पुँजीवादीले उद्योगधन्दा बेची जर्जियालाई कङ्गाल बनाएको कुरा उठाए । कम्युनिस्ट विरोधी शक्तिले मजदुरलाई दबाउन कठोर कानुन बनाएको पनि कुरो उठ्यो ।
भारतबाट गएका प्रतिनिधि एस.बी. रावले भारत संसारको पाँचौँ ठुलो खानी उद्योग भएको देश हो र भारतमा पनि खानी मजदुरलाई शोषण गरिएको कुरा गरे ।
दक्षिण अफ्रिकालगायतका अफ्रिकी प्रतिनिधिले खानी मालिक मजदुरसँग भएको सम्झौताको आधारमा मजदुरलाई काममा लगाउँदैनन्; उनीहरूको कामको सुरक्षा नभएको कुरा उठाए । उनीहरूको भनाइमा खानी मजदुर बधुवा मजदुर जस्तै भएका छन् भन्ने थियो ।
फिलिपिन्सका प्रतिनिधिले उनको देश अर्थऔपनिवेशिक अवस्थामा रहेका कुरा बताइन् । पोल्यान्डका प्रतिनिधिले पनि पोल्यान्डमा खानी मजदुरलाई उचित पारिश्रमिक नदिएको कुरा उठाए ।
सबैको भनाइमा साम्राज्यवादी र नाफामुखी पुँजीवादी व्यवस्थाको कारणले गर्दा मजदुर ठगिएको भन्ने निचोड थियो । अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादले गर्दा सङ्कट आएको भन्ने सबैको भनाइमा थियो ।
दोस्रो दिनको कार्यक्रम सकिएपछि साँझ भव्य सांस्कृतिक कार्यक्रम राखिएको थियो । विभिन्न देशका प्रतिनिधिले अन्तर्राष्ट्रिय ऐक्यबद्धताका क्रान्तिकारी गीतका साथै आआफ्नो देशको संस्कृति झल्कने झाँकी पनि देखाए । हामी तीन नेपालीले पनि रक्तिमका सङ्कलित गीत गाई पछि अङ्ग्रेजीमा अनुवाद पनि गर्यौँ ।
सम्मेलनको तेस्रो दिनमा विभिन्न समितिले अनुसन्धान गरी ल्याएका रिपोर्टमाथि छलफल भयो । यी रिपोर्टको प्रमुख उद्देश्य जनतालाई फासिवाद र साम्राज्यवादबाट हुने खतराको सम्बन्धमा सुसूचित पार्नु थियो । कतिपय रिपोर्टमा कसरी मिडियालाई पुँजीवादी शक्तिले नियन्त्रण गरी दुरूपयोग गरेको भन्ने कुरा आए ।
साम्राज्यवादले संसारका सबै कुनामा एकाधिकार जमाएको कुरा एउटा अनुसन्धान रिपोर्टमा देखाइएको थियो । ट्रेड युनियनको अवस्थाबारेको रिर्पाेटमा कसरी विभिन्न देशका सरकारले हस्तक्षेप गरेका छन् भन्ने कुरा उठाइयो । सहभागीले खानी मजदुरको एकता बढ्दै गएको र उनीहरूले विभिन्न प्रकारले सङ्घर्ष गरेको कुरा उठाए । कतिपय सहभागीले भिसा पाउन गाह्रो भएकाले ठुलो कठिनाइले आएको र कतिपयले भिसा नमिलेकाले आउन नसकेका कुरा बताए । अफगानिस्तानबाट सहभागीले आफ्नो रिपोर्टमा त्यहाँ पनि धेरै कम्युनिस्ट भएको र सङ्गठन बढ्दै गएको कुरा बताए । अफगानी प्रतिनिधिले महिलामाथि तालिबान सरकारले गरेको विभेदका पनि चर्चा गरे ।
अत्यन्तै अनुशासित ढङ्गबाट चलेको सम्मेलनमा समग्रमा विश्वभरि मजदुरको साझा समस्या र साम्राज्यवादी शक्तिका बिचको द्वन्द्वले हुन सक्ने तेस्रो विश्वयुद्ध मुख्य चिन्ताको विषय रह्यो ।
सेप्टेम्बर ३ को दिन सम्मेलनको अन्तिम दिन थियो । यो दिनमा विभिन्न प्रस्तावमाथि छलफल गरी एकमत नभएका विषयमा मतविभाजनको माध्यमबाट निष्कर्षमा पुगी प्रस्ताव पास भए र तिनलाई कार्यान्वयन गर्ने सम्बन्धमा पनि चर्चा भयो । चौथो अन्तर्राष्ट्रिय मजदुरको सम्मेलन पेरूमा गर्ने निर्णय भयो र पेरूबाट आएका प्रतिनिधिले आफूहरू त्यसका लागि सक्षम भएको कुरा बताए ।
सम्मेलनको अन्तिम सत्रमा सहभागीहरू मजदुरको एकतामा पुन: जोड दिएर यसरी नै साम्राज्यवाद र फासिवादबाट संसारलाई बचाउन सकिने कुरा बताए ।
श्रीलङ्काका प्रतिनिधिले श्रीलङ्काली सरकारले भारतको अडानी समूहसँग देशको हितको समर्पण हुने गरी सम्झौता गरेको कुरा बताए । विकासको नाममा श्रीलङ्काको टिट्न्कोमाली बदरगाह भारतलाई दिएको कुरा पनि उनले उठाए ।
त्यसैगरी, फिलिपिन्सका प्रतिनिधिले अन्त्यमा युनाइट एन्ड फाइट विडाउट बोर्डर अर्थात् सीमाको बन्धनबिना एकजुट होऔँ र सङ्घर्ष गरौँ भन्ने धारणा राखिन् । आदिवासी जनताको जमिन खोसी नाफामुखी पुँजीवादी शक्तिले उद्योग खोलेको कुरा पनि उनले उठाइन ।
सम्मेलनको अन्तिममा बोल्ने इन्डोनेसियाका प्रतिनिधिले साम्राज्यवादले नाफाको लागि प्रत्येक दिन तीन सय टन फोहोर पदार्थ समुद्रमा फालेको कुरा उठाए ।
यसरी विभिन्न देशमा प्रतिनिधिले आफ्ना कुरा राखेपछि आयोजकको तर्फबाट आफ्ना कुरा राखेपछि सम्मेलन समाप्तिका घोषणा भयो ।
सम्मेलनकै भागको रूपमा सेप्टेम्बर ४ को दिनलाई बुचनवाल्डस्थित हिटलर समयको कन्सेन्ट्रेसन क्याम्पमा जानुपर्ने थियो । करिब २०० माइलको यात्रापछि सबै सहभागीलाई उक्त स्थलमा लगियो । यो क्याम्पमा करिब ५७,००० मानिसलाई कैदी बनाइएको रहेछ ।
तिनीहरूलाई त्यहाँ हत्या गर्न लगिएको नभई उनीहरूबाट काम लिन, खास गरी निर्माणसम्बन्धी काममा लगाउन लगिएको रहेछ । नाजिवादका विरोधी, जो विभिन्न देश र जर्मनीका समेत कैदी थिए, उनीहरूलाई विभिन्न काममा लगाइएको रहेछ । तीमध्ये हतियार उत्पादन गर्ने काम प्रमुख थियो ।
ती कैदीमध्ये करिब १५,००० जति सोभियत सङ्घका नागरिक रहेछन् । उनीहरूलाई सोभियत सङ्घ र जर्मनीको बिचमा युद्ध सुरु भएकै वर्ष सन् १९४१ मा ल्याइएको रहेछ । उनीहरूलाई अन्य कैदीभन्दा फरक प्रकारले यातना दिएर राखिएको रहेछ र जर्मनीको हार हुने लगभग निश्चित भएपछि बाँच्न सफल भएका सोभियत कैदीलाई सन् १९४४/४५ मा गोली हानी मारिएको रहेछ तर मारिनुअघि सोभियत कैदी र अन्य कैदीको बिचमा आपसी ऐक्यबद्धता बढेको रहेछ ।
जर्मनीमा एक मात्र यस्तो कैदिगृह रहेछ, जहाँका कैदीले आपसी भाइचारा बढाएर आफैले उत्पादन गरेका हतियार उठाई विद्रोह गरेका रहेछन् । त्यस क्रममा धेरै कैदीले आफूलाई छुटाउन सफल भएका रहेछन् । वास्तवमा त्यो विद्रोहको सफलताको पछाडि सोभियत कैदीको नै योगदान बढी रहेको थाहा पाइयो ।
त्यसैगरी, क्याम्पमा मारिएका कैदीलाई गाडिएको स्थल पनि देखियो । कैदीलाई पशुभन्दा पनि निकृष्ट अवस्थामा राखिएका वासस्थानका अवशेष पनि देखिए । १०० जना बस्ने मिल्ने टहरामा ५०० जति राखिएको रहेछ । त्यहाँका कैदी बस्ने टहरा पनि कैदीले आफै बनाएका रहेछन् । उनीहरूबाट काम पनि लिने र पछि उनीहरूलाई यातना दिने गरिएको रहेछ । कैदीहरूलाई गाड्ने कव्रिस्तान पनि उनीहरूलाई नै खन्न लगाइएको रहेछ ।
कन्सन्ट्रेसन क्याम्पको अवलोकनपछि सबै सहभागीलाई त्यहाँबाट केही टाढा रहेको बेल्ट टावरतर्फ लगियो । यो टावर पूर्वी जर्मनी सरकारले सन् १९५१ देखि सुरु गरी सन् १९५८ मा काम पूरा गरेको रहेछ । कैदीका लासहरू त्यो टावरमुनि पनि गाडिएको रहेछ । त्यहाँ सङ्घर्ष गर्दै गर्दा मारिएका व्यक्तिका सालिक राखिएका छन् ।
टावरक्षेत्रको अवलोकनपछि एउटा छोटो श्रद्धाञ्जलीसभा भयो । उक्त सभामा सबै सहभागीले म “फासिवादको विरुद्धमा लाड्ने प्रतिज्ञा गर्छु” भन्ने नारासहितका आफ्ना भनाइ राखे । बुचेनवाल्ड मेमोरियल क्याम्पको अध्ययन भ्रमणपछि सबै सहभागीलाई ५ सेप्टेम्बरदेखि सुरु हुने साम्राज्यवाद विरोधी अन्तर्राष्ट्रिय संयुक्तमोर्चाले आयोजना गरेको सम्मेलनतर्फ लगियो ।
सेप्टेम्बर ५ मा साम्राज्यवाद विरोधी अन्तर्राष्ट्रिय संयुक्तमोर्चाको औपचारिक उद्घाटन हुनुपर्ने भएकाले सेप्टेम्बर ४ को साँझमा पनि सम्मेलनस्थलमा विभिन्न देशबाट आएका प्रतिनिधिको बिचमा अनौपचारिक भेटघाट भई एकार्का देशको वस्तुस्थितिको बारेमा विचारको आदानप्रदान भयो ।

बेलुकाको खाना खाएपछि पुन: भव्य सांस्कृतिक कार्यक्रम पनि भयो । सांस्कृतिक कार्यक्रम पनि अन्तर्राष्ट्रिय ऐक्यबद्धता र साम्राज्यवादीको विरोधसँग सम्बन्धित थिए ।
५ सेप्टेम्बर बिहान १० बजे साम्राज्यवाद विरोधी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भयो । सम्मेलनको सुरुमा उद्घाटन भाषण जर्मन कम्युनिस्ट पार्टीका नेता स्टेफन एन्जेलले दिए ।
करिब एक घण्टाको भाषणमा उनले वर्तमान संसारमा साम्राज्यवादका विभिन्न स्वरूप र तिनबाट उत्पन्न खतरामाथि प्रकाश पारे । उनले अन्तर्राष्ट्रिय सर्वहारा वर्गले राष्ट्रिय सीमा पार गरिसकेको कुरा बताए । एकाधिकार तानाशाही वित्तीय व्यवस्थासहितको फासिवाद र साम्राज्यवादले नयाँ उपनिवेशवादी चरित्र लिएको उनको भनाइ थियो । सन् १९९० पछि अन्तर्राष्ट्रिय उत्पादनको पुन: सङ्गठन भई वित्तीय पुँजीले अग्रणी भूमिका लिई विश्वका कतिपय मुलुकमा उनीहरूको आर्थिक र राजनैतिक पहुँच बलियो भई ती देश पराश्रित हुन पुगेको उनको भनाइ थियो । सैनिक पक्षको उदाहरणका रूपमा उनले रुस र युक्रेन बीचको साम्राज्यवादी युद्धलाई लिए । उनले औद्योगिक सर्वहारा वर्गको सङ्ख्या बढेको कुरा बताए र साम्राज्यवादी देशको सङ्ख्यामा वृद्धि हुँदै गएको र तीमध्ये धेरै जस्ता जि–२० समूहका देश परेका उनको भनाइ थियो । संयुक्त राज्य अमेरिकाको वित्तीय सहयोगले धेरैलाई प्रभाव पारेको र कतिपय देश क्षेत्रीय साम्राज्यवादी शक्ति भएका छन् भन्ने उनको ठम्याइ थियो । संयुक्त राज्य अमेरिका एक मात्र महाशक्तिको रूपमा रहेको र अमेरिका र चीनको बीचमा आर्थिक कलह रहनुको पछाडि चीन आर्थिक रूपमा महाशक्ति भइसकेको कारणले हो भन्ने विचार उनले राखे ।
उनले साम्राज्यवादी शक्तिले निर्ममतापूर्वक वातावरणको शोषण गरेको र संसारमा मानव अस्तित्वमाथि नै ठुलो सङ्कट आएको कुरा राखे । त्यसैले सबै पीडित राष्ट्रमा क्रान्तिकारी लहर ल्याउनुपर्ने आवश्यकतामा जोड दिए । उनले अधिकतम नाफामुखी नवऔपनिवेशवादी व्यवस्थाले गर्दा नयाँ औपनिवेशिक देश ऋणको भारमा परेको कुरा बताए । उनले साम्राज्यवादले मानव जातिका समस्याको समाधान गर्न नसक्ने कुरा बताए र साम्राज्यवादका गलत नीतिको कारणले गर्दा विश्वभर त्यस्ता नीतिको विरोध भएको कुरा बताए र इजरायली प्रधानमन्त्री नेतान्याहुले ल्याएको न्यायिक सुधारको कार्यक्रमलाई एउटा यस्तै उदाहरणको रूपमा लिए । उनले ठुला साम्राज्यवादी जस्तै क्षेत्रीय साम्राज्यवादी शक्तिहरू पनि उत्तिकै खतरनाक हुने कुरा बताए । सिरियामा अमेरिका, रुसलगायतका साम्राज्यवादी शक्तिको हस्तक्षेपको विरोध गरे ।
उनले संशोधनवादी शक्तिले समाजवाद र साम्यवादलाई बद्नाम गराउन खोजेको प्रयासको निन्दा गर्दै साम्राज्यवादी विरोधी शक्तिका अन्तर्राष्ट्रिय सङ्गठन बलियो पार्नुपर्ने कुरा बताए । साम्राज्यवादको सिकार भएका देशको एकता राष्ट्रिय सीमाभन्दा पर जान्छ भन्ने उनको तर्क थियो । उनले अफ्रिकन मुलुकहरू कसरी साम्राज्यवादको शिकार भइरहेका छन् भन्ने कुरा बताए । आज ती देश अन्तर्राष्ट्रिय वित्तिय एकाधिकार शक्तिबाट नियन्त्रित भएका छन् भन्ने उनको तर्क थियो । उनले टर्की पनि नयाँ उपनिवेशवादी मुलुकमा सामेल भएको कुरा गरेर टर्कीका राष्ट्रपति एर्दोगान जस्तै केही अन्य देशका नेताले पनि फासिवादी बाटो लिएको कुरा बताए र त्यसमा भारत र साइप्रस पनि पर्ने कुरा बताए ।
उनले अफ्रिकाको सहारा क्षेत्रका जनता र प्यालेस्टाइनीले भोग्नुपरेका शोषणको पनि उल्लेख गरे । उनले बेला बेलामा गाजापट्टी र पश्चिमी किनारका सहर नेवलुस, जेनिन आदिमा हुने इजरायली आक्रमणको उल्लेख गरे । इजरायलको यी कार्य अमेरिकी आडमा भएको बताए । उनले एकातिर, प्यालेस्टाइनीको आत्मनिर्णयको अधिकारसहितको मातृभूमि प्राप्तिको सङ्घर्षको आवश्यकताका जोड दिए भने अर्काेतिर, युरोपका विभिन्न मुलुकमा साम्राज्यवादी शक्तिका गलत नीतिको कारणले बढ्दै गइरहेको शरणार्थीको सङ्ख्या र युरोपियन मुलुकमा शरणार्थीसम्बन्धी अनुदार नीतिको व्यापक विरोध जनाए ।
उनले साम्राज्यवादी शक्तिहरू जलस्रोतको भागबन्डामा लागेको र अमेरिका, फ्रान्स र ब्रिटेन जस्ता मुलुक चीनको शक्तिविस्तारलाई रोक्न लागेको कुरा बताए । त्यसैगरी, उनले विगतमा इराक लिबियामाथि अन्यायपूर्ण युद्ध थोपरेको उल्लेख गरे र साम्राज्यवादी शक्तिहरू प्राकृतिक स्रोतसाधनको शोषणको लागि यस्तो घृणित कार्य गर्दछ भन्ने कुरा गरे । रसिया र युक्रेन युद्धबिचको चर्चा गर्दै रसिया यदि अप्ठ्यारोमा परेको खण्डमा पुतिनले आणविक बमको प्रयोग गर्न सक्ने धम्की दिएकाले विश्व आज त्रासदीमा बाँचिरहेको कुरा बताए । हिजो हिटलरको फासिवाद विरुद्ध लडेका रसिया र युक्रेन आज एकार्कालाई समाप्त पार्न लाग्नु विडम्वनाको कुरा रहेको बताए । जर्मनी पनि युक्रेन युद्धमा फसेको र यसबाट उसको साम्राज्यवादी चरित्र नाङ्गिएको कुरा बताए । युक्रेन एउटा तटस्थ राष्ट्र रहने गरी आउनुपर्ने र रसियाले पनि तुरुन्त आक्रमण बन्द गर्नुपर्ने उनको भनाइ थियो तर उनले साम्राज्यवादी शक्ति अमेरिकाले यसो हुन नदिने कुरा पनि औँल्याए ।
उनले साम्राज्यवादी शक्तिले अन्य देशबाट आफ्ना सैनिक अड्डा हटाउनुपर्ने कुरा गरे । उनले साम्राज्यवाद समाप्त नभएसम्म प्यालेस्टाइनलगायत अन्य शोषित जनताले मुक्ति नपाउने कुरा गरे र क्रान्तिकारी शक्तिको अन्तर्राष्ट्रिय सङ्गठन बलियो हुनुपर्ने कुरा पनि उठाए । साथसाथै उनले मानवजाति र प्रकृतिको बिचमा समन्वय गरेर मात्र मानवजातिलाई विनाशबाट रोक्न सकिने कुरा बताए । उनले साम्राज्यवादका विभिन्न रूप मानवजातिका साझा शत्रु भएकाले शोषितपीडित जनताको बिचमा आपसी सहयोग बढाउनुपर्ने कुरामा जोड दिए ।
उनको भाषणपछि विभिन्न देशबाट आएका प्रतिनिधिले आआफ्नो क्षेत्रको वस्तुस्थितिसहितको रिर्पोट र वक्तव्य दिए । धेरैजसो प्रतिनिधिले महिला, युवा, आदिमा संयुक्त जत्था बनाई अन्तर्राष्ट्रिय सङ्गठनलाई मजबुत बनाउने कुरामा जोड दिए । जनताको विद्यमान जीवनस्तरलाई उठाउनुपर्ने कुरा पनि उनीहरूले गरे । सबै देशले आत्मनिर्भर हुनुपर्ने र गैरसरकारी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय संस्थामाथि निर्भर हुन नहुने कुरा पनि उठाए । विभिन्न देशमा सङ्घर्षको संस्कृतिलाई बढाउनुपर्ने र यसका लागि आधुनिक प्रविधिको पनि सहयोग लिनुपर्ने कुरा उठाए । श्रवजीवी वर्गलाई गोलबन्द गर्नुपर्ने कुरा उठाएर सबै प्रतिनिधिको एकीकृत आवाज आउने दिनका सङ्घर्षको रूपमा बढाउनुपर्नेमा नै उनीहरूको जोड थियो ।
कतिपय प्रतिनिधिले आआफ्ना देशमा भएका अत्याचार र दमनका उदाहरण प्रस्तुत गरे र अत्यन्तै कठिनाइपूर्वक जर्मनीमा आएको कुरा बताए ।
सम्मेलनको समाप्त हुने दिन अर्थात् ६ सेप्टेम्बरमा विभिन्न प्रस्ताव कतिपय सर्वसम्मत र कतिपय मतविभाजन गरी बहुमतको आधारमा पास भए । सम्मेलनको सारको रूपमा फासिवादी एवम् साम्राज्यवादी शक्तिले संसारका विभिन्न मुलुकमा फैलिएको लुट, शोषण अतिक्रमण, सैनिक हस्तक्षेपलगायत अन्य अन्यायपूर्ण गतिविधिको विरुद्धमा एक होऔँ भन्नुभयो ।
सम्मेलनले राष्ट्रिय एवम् सामाजिक मुक्ति, प्रजातन्त्र, स्वतन्त्रतासहितको शोषणरहित समाजका लागि संयुक्त रूपमा सङ्घर्ष गर्नुपर्ने प्रस्ताव पनि पास गर्यो । साम्राज्यवादले जहाँ पनि प्रतिक्रियावादी क्रियाकलाप गर्ने हुनाले साम्राज्यवाद विरोधी शक्ति गोलबन्द भई प्रजातान्त्रिक हकअधिकार र स्वतन्त्रताको लड्नुपर्छ भन्नेमा सबैको एकमत थियो ।
सम्मेलनको अन्त्यमा अन्तर्राष्ट्रिय साम्राज्यवाद विरोधी संयुक्तमोर्चाको कार्य समिति चयन पनि भयो । यसको संयोजकको रूपमा जर्मन कम्युनिस्ट पार्टीका नेतृ मोनिकालाई सर्वसम्मत रूपमा ध्वनिमतबाट निर्वाचित गरियो । उक्त कार्य समितिमा विभिन्न महाद्वीप र देशहरूको प्रतिनिधित्व हुने गरी प्रतिनिधि चुनिएका थिए । नेपालको तर्फबाट नेकपा (मसाल) को भ्रातृ सङ्गठन अखिल (छैठौं) का सुभाष जिसीलाई उहाँको अनुपस्थितिमा सबै देशका प्रतिनिधिले सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा सुनाइयो । सुभाष जिसीको निर्वाचनलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नेकपा (मसाल) ले पुर्याएको योगदानको सम्मानको रूपमा लिइएको थियो ।

