काठमाडौं । काठमाडौं महानगरले सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन निर्देशन दिएको छ ।
केही विद्यालयले स्वीकृत नभएका पाठ्यक्रम अध्ययन गराएको गुनासो आएको भन्दै ती विद्यालयलाई कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।
महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले पाठ्यक्रम विकास केन्द्र सानोठिमीले स्वीकृत गरेका पुस्तक अध्ययन गराउन विद्यालयहरुलाई सर्कुलर गरेका छन् ।
‘केही विद्यालयले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको र पाठ्यपुस्तक किन्नकालागि विद्यार्थीलाई बाध्य गरेको गुनासोप्रति काठमाडौं महानगरको ध्यानकर्षण भएको छ,’ सबै विद्यालयलाई पठाएको पत्रमा भनिएको छ,‘नेपाल सरकारबाट स्वीकृत र पाठ्यक्रम विकास केन्द्रमा सुचीकृत भएका पाठ्यपुस्तक मात्र पठनपाठनको व्यवस्था गर्न सूचित गरिन्छ।’
विद्यालयले अंग्रेजी ब्याकरण तथा अंग्रेजी शब्दकोषका लागि बाहिरका पुस्तक पठन पाठन गराउन सक्ने छन्।