काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ ।
उनीहरुबाट पीडितलाई २८ लाख १७ हजार ५ सय ९३ रूपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ। प्रतिवादीहरूबाट दामासाही रूपमा यो रकम भराउनुपर्ने अदालतको फैसला छ।
बिहीबार न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गरेको हो ।
आरोपित दीपक ओझाले भने सफाइ पाएका छन् ।
चलाउनेमाथि ०७७ असोज २० गते नेविसंघका कार्यकर्ताहरूले मरणासन्न हुनेगरी सांघातिक आक्रमण गरेका थिए।
सरकारले यो मुद्दा फैसला नहुँदै फिर्ता लिने निर्णय गरेको थियो। तर, सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयनमा रोक लगाउँदै जिल्ला अदालतलाई फैसला गर्न भनेको थियो।