काठमाडौँ । बैदेसिक रोजगार बोर्डको सचिवालयले बैदेसिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।
श्रमस्वीकृति लिई बैदेसिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्ण रूपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन माग गरेको हो ।
बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालका अनुसार बैदेसिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि–२०८० को अनुसूची १ बमोजिम आगामी पुस ८ गतेभित्र निवेदन दिन आह्वान गरेको छ ।
सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्म) का १८ वर्षमुनिका बालबालिकाले निवेदन दिन पाउने बोर्डको सचिवालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
श्रमस्वीकृति लिई बैदेसिक रोजगारमा गई मृत्यु वा अङ्गभङ्ग वा बिरामी भई बैदेसिक रोजगार बोर्डबाट शतप्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन पाउने सूचना अधिकारी तथा निर्देशक ढकालले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘वार्षिक रूपमा आधारभूत तहका लागि रु १२ हजार र माध्यमिक तहका लागि रु १६ हजार छात्रवृत्ति दिइने छ । एक जना विद्यार्थीलाई एउटा कक्षामा एकपटकका लागि मात्रै वार्षिक रूपमा एकमुष्ट छात्रवृत्ति उपलब्ध गराइने छ ।’
