काठमाडौं । मधेस प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय सीमा दिएको छ।
बुधवार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ३० दिनभित्र प्रहरी समायोजन गर्न माग राखि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागिएको जानकारी दिएका हुन्।
उनले भोलि प्रहरी समायोजन र निजामती कर्मचारी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने बताए। उनले प्रहरी प्रशासन प्रदेश सरकार मातहतमा नआउँदा काम गर्न अपm्ठ्यारो परेको बताए। उनले संघीय सरकारलाई प्रहरी समायोजन गर्नका लागि ३० दिनको समय सिमा दिइने र सो समयमा पनि समायोजन नभएमा चरणवद्ध आन्दोलन गर्ने बताए।
उनले भने, ‘संघले पनि प्रहरी ऐन बनाइसकेको छ तर कार्यान्वयनमा आएको छैन। यस्तै निजामती ऐन लगायतका धेरै विषयहरु छन्।
प्रदेशलाई हस्तान्तरण गरिएको छैन। जुन कारणले प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो छ। दबाब दिनको लागि ज्ञापन पत्र बुझाउँछौँ। ३० दिनको समय दिएर।
३० दिनभित्र कार्यान्वयन पक्षमा केन्द्र सरकार गएन भने हामी चरणवद्ध आन्दोलनतिर लाग्छौँ।’
उनले प्रहरी र कर्मचारी समायोजनका साथसाथै ज्ञापन पत्रमा अन्य विभिन्न मागहरु पनि समेटिएको उल्लेख गरे।