काठमाडौँ । राष्ट्रिय जनमोर्चाले जाजरकोट भूकम्पपीडितलाई तत्कालै राहत उपलब्ध गराउन माग गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० कात्तिक १८ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो माग गरेको हो ।
प्रेसवक्तव्यमा भूकम्पबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जली घाइतेको तीव्र उद्धार तथा उपचारमा ध्यान र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
प्राकृतिक बिपत्को पूर्व अनुमान गरी क्षति न्यूनीकरण गर्न जोड दिइएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“२०८० कात्तिक १७ गते राति पश्चिम पहाडका जाजरकोट र रुकुम जिल्लामा भूकम्प गएका कारण थुप्रै धनजनको क्षति भएको छ । भूकम्पमा परी ज्यान गुमाउनु हुने मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइतेहरूको तीव्र उद्धार, उनीहरूको उपचारमा ध्यान दिन तथा भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन नेपाल सरकारसँग माग गर्दछौँ । त्यसका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
प्राकृतिक बिपत्को पूर्व अनुमान गर्न नसक्दा पटक पटक धनजनको क्षति हुने गरेको छ । त्यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।”