पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका अनुसार दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको हो ।
रक्तसञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालमा उपचाररत बिरामीलाई तत्काल रगत अभाव हुन नदिन सोमबार आकस्मिक रक्तदान कार्यक्रम आयोजनासमेत गरिएको छ । पोखरा–५ जिरो किमीमा गरिएको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत सङ्कलन भएको सो केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताउनुभयो ।
उहाँले भन्नुभयो– “दसैँका समयमा विभिन्न सङ्घसंस्थाले गर्ने रक्तदानका कार्यक्रम नियमित हुन सकेनन् । अहिले रगत अभाव भएपछि सबैलाई सहयोग गर्न आग्रह गरेका छौँ । आकस्मिक कार्यक्रम गरेर अभाव टार्ने प्रयास गरेका हौँ ।”
केन्द्रले अहिले रगत छैन भनेपछि सबैबाट सहयोग प्राप्त भएको जनाएको छ ।
सहज आपूर्तिका लागि दैनिक कार्यक्रम हुनुपर्ने उहाँले बताउनुभयो ।
पोखरामा दैनिक ७० देखि ७५ युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ ।
प्रदेशका अन्य जिल्लाबाट समेत यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने भएकाले पोखरामा रगतको माग उच्च हुने गर्दछ । आकस्मिक रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनबहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वत:स्फूर्त सहभागिताप्रति आभार व्यक्त गर्नुभयो ।
‘मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमा छ । प्रहरी जनताकै सेवाका लागि रहेको हुँदा जनताको सुरक्षाका साथै जनसेवाका कार्यमा प्रहरी सधँै साथमा रहन्छ’ उहाँले भन्नुभयो ।
रक्तदान कार्यक्रम आयोजना गरेको अभिभावक गृह कास्कीका अध्यक्ष देवेन्द्र सुवेदीले आकस्मिक रूपमा गरिएको कार्यक्रममा उल्लेख्य सहभागिताप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘रगत अभाव भएको थाहा पाएपछि तत्कालै कार्यक्रमको आयोजना गरिएको हो ।’ (रासस)

