काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा यसपालिको बडादसैँमा तुलनात्मक रूपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ ।
विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठुला घटना/दुर्घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
फूलपातीयता आज शुक्रबारसम्म केही छिटफुट घटना भए पनि ठुला आपराधिक घटना, चोरीडकैती तथा दुर्घटना नभएको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शान्तिसुरक्षाका हिसाबले यसपालिको दसैँ विगतका वर्षमा भन्दा सौहार्दपूर्ण रूपमा सकिएको छ ।
उपत्यकाका तीन जिल्लामा चाडबाड विशेष सुरक्षा योजना तयार पारी निगरानी गरिएको र सम्भावित जोखिम क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको थियो । तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर तीनै जिल्लामा सुरक्षा निगरानी गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले भन्नुभयो– ‘सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राखिएको थिएन । सादा पोसाकमा पनि प्रहरी परिचालन गरेर सूक्ष्म निगरानी गरिएको थियो भने सुरक्षा निगरानीका लागि ड्रोन र कुकुरको समेत प्रयोग गरिएको थियो । यस अवधिमा उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बन्यो । अब छठसम्मै यसलाई जारी राख्ने योजनाका साथ निगरानी भइरहेको छ ।’
यद्यपि कडा सुरक्षाका बिच पनि छिटफुट घटना भने देखिए । यही कात्तिक ४ गते फूलपातीदेखि शुक्रबार बिहानसम्ममा उपत्यकामा एक सय तीनओटा घटना भएका छन् । ती घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक सय १८ जना घाइते भएका मैनालीले जानकारी दिनुभयो ।
यसबिचमा २० ओटा सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । सवारी साधनहरू आपसमा ठक्कर खाएर ५१ ओटा दुर्घटना भएको थियो । उक्त दुर्घटनमा ७३ जना घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार कुटपिट र झैझगडाका १३ घटनामा एक जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । चोरीका १० र धारिलो हतियार प्रहारसम्बन्धी दुईओटा घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
जुवातासको खालबाट काठमाडौँबाट सात, ललितपुरबाट १३ र भक्तपुरबाट दुई जना गरी कुल २२ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट रु पाँच लाख नगद बरामद गरिएको छ ।