जेरुसेलम । विदेशी नागरिकलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ ।
यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर भाग्न स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म सीमित समय थप्न इजराइली सेनाले वाचा गरेको छ ।
इजराइल, इजिप्ट र अमेरिकाबिच गाजा र इजिप्टको बिचमा रफाह पार गर्न विदेशी नागरिकलाई भाग्न र राहत सामग्री प्रवेश गर्न अनुमति दिन उक्त प्रवेशद्वार केही घन्टा खोल्न सहमत भएको समाचारमा बताइएको थियो तर नेतान्याहुको कार्यालयले एक विज्ञप्तिमा विदेशीलाई हटाउनुको बदलामा गाजामा युद्धविराम र मानवीय सहायता हाल नरहेको बताएको छ ।
प्रत्यक्षदर्शीका अनुसार सहायता समूहले इजिप्टतिरबाट पर्खिरहेका छन् तर सोमबार रफाहबाट ४० किलोमिटर पूर्व एलअरिस सहर छोडेका थिएनन् ।
सोमबार बिहान इजराइली सेनाले सर्वसाधारणलाई गाजापट्टीबाट दक्षिणतिर जाने र सम्भावित जमिन आक्रमण गर्न चिह्न लगाइएको दुईओटा सडकमा हमला नगर्ने बताएको थियो । (रासस/एएफपी)