काठमाडौँ । नेकपा (मसाल) ले नवलपुर जिल्ला मध्यविन्दु–४ निवासी लालबहादुर क्षेत्रीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० असोज ४ गते बिहीबार शोक वक्तव्य जारी गर्दै पार्टीले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका लोकप्रिय नेता रहनुभएका क्षेत्रीको निधनमा जारी सो वक्तव्य यस प्रकार रहेको छ :
“नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका–४ निवासी का. लालबहादुर क्षेत्री (का. प्रगति) को २०८० भदौ २७ गते हृदयघातबाट ६७ वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हामीले हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. क्षेत्री हाम्रो पार्टीको जुझारु, सक्रिय र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँ भारतमा श्रमिक नेपालीहरूको प्रिय सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्यमा कार्यरत हुनुका साथै उक्त सङ्गठनको मध्यउत्तर भारत क्षेत्रीय समितिको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ पार्टीको जिल्ला समितिको सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा, हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”