काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघका कामना प्रतिष्ठान शाखाका सदस्य पत्रकार राजेन्द्र पराजुलीको निधनप्रति दु:ख व्यक्त गरेको छ । पराजुलीको उपचारको क्रममा ५९ वर्षको उमेरमा भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दु:खी भएको महासंघले जनाएको छ।
ज्वरो र निमोनियाबाट थलिएका पत्रकार पराजुलीलाई उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा भर्ना गरिएकोमा उपचारत अवस्थामै आज बिहान निधन भएको हो ।
तीन दशकदेखि पत्रकारितामा सक्रिय रहेका पराजुलीले कान्तिपुर दैनिक, राजधानी दैनिक, नेपाल समाचारपत्र, अभियान दैनिक, आर्थिक दैनिक, नागरिक दैनिकलगायतमा काम गरेका थिए। उनले बाहृखरी, देखापढी, फरकधार अनलाइनसहित विभिन्न टेलिभिजन र एफएममा संवाददाता तथा जिम्मेवार तहमा रहेरसमेत काम गरेका थिए।
पत्रकारितासँगै साहित्य क्षेत्रमा समेत सक्रिय रहेका पत्रकार पराजुलीको ‘कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चस्मा, अघोरी, अनायिका, जाडोको भोक, सपनामा मार्क्स, विकल्प यात्रा’ लगायतका साहित्यिक कृति प्रकाशित भएका छन्। उनको पछिल्लो समय ‘जन्तरमन्तर’ कथासंग्रह प्रकाशनमा आएको थियो।
‘उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, ऊर्जाशील र अनुभवी पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ भने साहित्य क्षेत्रले एक कुशल साहित्यकार गुमाएको छ’ महासंघले शोक विज्ञप्ति प्रकाशित गरी भनेको छ।
महासंघ स्वर्गीय पत्रकार पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ।
पराजुलीका श्रीमती, एक छोरा र एक छोरी छन्।