काठमाडौँ । सुनतस्करी प्रकरणमा विमानस्थलका कर्मचारीलाई धरपकड गरेको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलित भएका छन् ।
कर्मचारीको आन्दोलनका कारण विमानस्थल भन्सारबाट वस्तु पास ठप्प भएको छ । आन्दोलनरत कर्मचारीले औषधिबाहेकका सबै वस्तुपास ठप्प पारेका हुन् ।
२०८० भदौ २४ गते आइतबार कर्मचारीहरूले प्रमुख भन्सार प्रशासकलाई पत्र लेख्दै विरोध कार्यक्रमबारे जानकारी गराएका थिए । उनीहरूले कर्मचारीमाथि धरपकड गरी हिरासतमा लिनेलगायतका कार्य अविलम्ब बन्द गर्नुपर्ने माग गरेका छन् ।
सुन प्रकरणमा हाल केही कर्मचारी गिरफ्तार भएका छन् । उनीहरूलाई के कति कारणले गिरफ्तार गरेको हो ? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिइएको उनीहरूको आरोप छ ।
आन्दोलनरत कर्मचारीले कर्मचारीमाथिको धरपकड बन्द गर्नुपर्ने, हिरासमतमा रहेका कर्मचारीलाई रिहा गर्नुपर्ने, दोषी प्रमाणित नहुँदै वैयक्तिक विवरण सार्वजनिक गर्न नपाइनेलगायतका माग राखेका छन् ।