दाङ । राष्ट्रिय जनमोर्चा दाङले सङ्गठनात्मक अभियान सञ्चालन गर्न आगामी भदौ ९ गते जिल्ला भेला गर्ने भएको छ ।
राजमो दाङको २०८० साउन १५ गते आइतबार घोराहीमा बसेको बैठकले सो निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा साउन १६ गते जारी प्रेसविज्ञप्तिका अनुसार नेकपा स्थापनाको हीरक जयन्ती र लेनिनको शताब्दी स्मृतिदिवसको सन्दर्भमा आगामी असोज महिनाभरि हजारौँ सदस्य पार्टीमा सङ्गठित गर्ने योजनालाई मूर्त रूप दिन सो भेलाको आयोजना गरिएको हो ।
विज्ञप्तिमा जिल्लामा कम्युनिस्ट आन्दोलनमा योगदान दिएका ज्येष्ठ सदस्य तथा संस्थापकसमेतको उपस्थितिमा साउन महिनाभित्र वृक्षरोपण गरिने भएको छ ।
त्यस्तै, विज्ञप्तिमा केही समयअगाडिदेखि राप्ती नदीको दोहन र त्यहाँ भएको भ्रष्टाचारको विषय उठाइएको छ ।
“राप्ती नदीको दोहन र भ्रष्टाचारमा जिल्लाको सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि र स्थानीय सञ्चारकर्मीको समेत नाम जोडिनु, राजनीतिक व्यक्ति ठेकेदार बन्नु तथा उनैले भ्रष्टाचारको कुरा सार्वजनिक गर्नु र अहिलेसम्म पनि त्यो विषयमा सत्य तथ्य सार्वजनिक नगर्नु र दोषीलाई कारबाही प्रक्रिया अगाडि नबढाएको अवस्थामा तत्काल दोषीलाई कारबाही गर्न वा सत्य तथ्य सार्वजनिक गर्न जोडदार माग गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी, विज्ञप्तिमा सरकारले किसानलाई खेती गर्ने समयमा अनुदानको मल पुर्याउन नसकेको र किसानहरू बाध्यताले महङ्गोमा गुणस्तरहीन रासायनिक मलप्रयोग गर्न बाध्य भएकोमा सरकारको गैरजिम्मेवार प्रवृत्तिप्रति क्षोभ प्रकट गर्ने र आगामी दिनमा यस्ता क्रियाकलाप नदोहोर्याउन ध्यानाकर्षण गराउने निर्णय भएको बताइएको छ ।
यतिखेर वर्षात्को समय भएको कारण बाढीपहिरो तथा प्राकृतिक प्रकोपको सम्भावनालाई मध्यनजर गरी पीडितको उद्धार र राहतमा ध्यान दिने निर्णय बैठकमा भएको विज्ञप्तिमा उल्लेख छ ।
विकास निर्माणका काममा व्यापक रूपमा गुणस्तर मापनमा अनियमितता भएको सन्दर्भ उठाउँदै विज्ञप्तिमा त्यसका कारण पक्की सडक तथा पुल वर्षदिन नपुग्दै ध्वस्त हुने, गुणस्तर मापनकर्ता नै सेटिङ रहनु जस्ता समस्याको भण्डाफोर गर्ने पनि बताइएको छ ।