मनिला । क्षमताभन्दा धेरै यात्री बोकेको यात्रीबाहक एउटा डुङ्गा फिलिपिन्सको राजधानी मनिलानजिक रहेको एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ भने ४० जनाको उद्धार गरिएको छ ।
Advertisement
बिनगोनान नगरपालिकाको बन्दरगाहबाट लागुना तालमा रहेको टापुतर्फ गइरहेका बेला जुलाई २७, २०२३ बिहीबार अपराह्न उक्त दुर्घटना भएको हो ।
बयालिस जना यात्री क्षमताको उक्त डुङ्गामा ७० जना यात्रीले यात्रा गरिरहेका थिए ।
तालमा हुरी चलेको त्यसबाट त्रस्त अधिकांश यात्री डुङ्गाको एक भागमा एकत्रित हुँदा सन्तुलन बिग्रेर दुर्घटना भएको फिलिपिन्सका तटरक्षकले बताएका छन् । डुङ्गामा अन्य यात्री पनि रहेका आशङ्का गरिएको छ ।
सात सयभन्दा बढी टापु भएको फिलिपिन्समा जल यातायात सुरक्षा नियम पालना नहुँदा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् । (रासस/एएफपी)