काठमाडौं । एक सय केजी सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। राजस्व अनुसन्धान विभागले बुधबार सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो। यो सँगै पक्राउ पर्नेको संख्या १७ पुगेको छ।
यसै प्रकरणमा बुधबार अपरान्ह प्रहरीले कमलादीस्थित सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा मारेको थियो।
त्यस लगत्तै बुधबार नै सोह्रखुट्टेस्थित एक गोदामा पनि छापा मारेको छ। उक्त गोदामबाट ६६ काटन ब्रेक शु बरामद गरिएको राजस्व स्रोतले जनाएको छ।
यता, हङकङबाट आएको सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिनको काठमाडौंस्थित गोदाममा सुन गाल्ने ठूलो मेसिन फेला परेको छ।
राजस्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित उनको गोदाममा छापा मार्दा सुन गाल्ने मेसिन फेला परेको हो।
राजस्व स्रोतका अनुसार उनको गोदाममा फेला परेको मेसिन राष्ट्र बैंकसँग रहेको भन्दा बढी क्षमताको छ। लिन एक वर्षदेखि नेपालमा कम्पनी खोलेर बसिरहेका छन्।
यो प्रकरणमा राजस्वको टोलीले अहिलेसम्म १७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिनियाँ नागरिक लिन, एकजना तिब्बली मुलका भारतीय नागरिक छन्। अरु अध्यागमन विभागका कर्मचारी, भन्सार एजेन्ट समेत छन्।