गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले स्वरोजगार र उत्पादनको वृद्धि गर्न कर्मशील जनशक्ति परिचालन गर्ने भएको छ ।
गाउँबाट सुखसुविधा खोज्दै सहरतर्फ बसाइँ सर्न थालेपछि बाँझो रहेका जमिनमा व्यावसायिक कृषि गरी उत्पादनमा वृद्धि, स्वरोजगारको सिर्जना गर्न र बसाइँसराइलाई नियन्त्रण गर्न चालु आर्थिक बर्षदेखि भूमिकास्थानले कर्मशील जनशक्ति परिचालन गर्ने भएको हो ।
गत आर्थिक वर्ष २०७९/८० मा सम्पादन भएका कार्यको समीक्षा गर्न आयोजित कार्यक्रममार्फत भूमिकास्थानले यस्तो घोषणा गरेको हो ।
ग्रामीण क्षेत्रमा बढ्दो बसाइँसराइ नियन्त्रण गर्ने, बाँझो तथा खेतीयोग्य जमिनको उपयोग गर्ने र उत्पादन वृद्धि गरी भूमिकास्थानलाई निर्यातको अवस्थामा लैजाने, घरमै बसेर क्षमता र दक्षताअनुसारको काम गर्ने, भूमिकास्थानका कर्मशील नागरिकलाई दक्षता तथा क्षमताअनुसारको काम र कामअनुसारको दाम दिने लक्ष्य राखेर यस्तो कार्यक्रम ल्याइएको भूमिकास्थानका नगर प्रमुख झविलाल थापाको भनाइ छ ।
त्यस्तै, कृषिमा चक्लाबन्दी, पकेट र हब सिस्टमअनुसार व्यावसायिक खेती गर्ने, रैथाने बालीको संरक्षण गर्ने, जडिबुटीको प्रबद्र्धन गर्ने र सबै नागरिकलाई क्षमताअनुसार काम दिने गरि यो कार्यक्रम ल्याइएको भूमिकास्थान नगरपालिकाका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालले बताउनुभयो ।
उहाँका अनुसार यो कार्यक्रम सफल भएमा भूमिकास्थान कृषिमा आत्मनिर्भर भई निर्यातको थालनी हुने र आर्थिक उपार्जनमा समेत वृद्धि हुने देखिएको छ । यस कार्यक्रमले शिक्षा, स्वास्थ्य र सचेतनाको स्तरवृद्धि गरि बढ्दो बसाइँसराइलाई समेत नियन्त्रणमा राख्ने भूमिकास्थानले विश्वास लिएको छ ।
भूमिकास्थानको समग्र प्रगति विवरण सुनाउँदै योजना शाखा प्रमुख भुसालले गत आर्थिक वर्ष २०७९/८० मा ९० दशमलब १४ प्रतिशत वित्तीय प्रगति र ९४ प्रतिशत भौतिक प्रगति हासिल गरेको दाबी गर्नुभयो ।
योजना शाखाको प्रतिवेदनका अनुसार खरको छानोमुक्त पालिकाउन्मुख रहेको, यस वर्षको नौ किलोमिटरसहित हालसम्म ३५ किलोमिटर सडक कालोपत्रे भएको, १० ओटै वडामा आफ्नै भवनबाट सेवा सुचारु भएको, १५ शैयाको अस्पताल सञ्चालनको निम्ती भवन निर्माण सम्पन्न भएको, कृषि, पर्यटन, उद्योग र व्यपारलाई प्रवद्र्धन गर्ने गरी आवधिक योजना निर्माण गरेको, पर्यटन प्रबद्र्धनको निम्ती सेङलेङ, पोखेडाँडा, दुर्बाङलगायतका पर्यटकीय स्थलको विकासको लागि डिपिआर तयार पारेकोलगायतका कामलाई भूमिकास्थानले प्रगतिको रूपमा लिएको छ ।
नगरप्रमुख थापासहित उपप्रमुख बालकृष्ण बन्जाडे, कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत तुवलाल सापकोटा, १० ओटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासचिव, भूमिकास्थानमा क्रियाशील राजनीतिक दलका नेता, भूमिकास्थानका विभिन्न विषयगत शाखाका प्रमुख, पत्रकार र अन्य सरोकारवालाको उपस्थितिमा सम्पन्न समीक्षा कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले भौतिक संरचना मात्रैले दिगो र पूर्ण विकास नहुने भन्दै सचेतना र व्यवहार परिर्वतनको लेभल उकास्ने गरी चौतर्फी विकासको काम गर्न सुझाव दिएका थिए ।
शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न पनि सहभागीले जोडदार माग गरेको नगरपालिकाले जनाएको छ ।