नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाले महामारीको रूपमा फैलिएको लम्पिस्किन रोग नियन्त्रणका लागि पशु स्वास्थ्यकर्मीलाई खोपसहित किसानको गोठ गोठमा खटाएको छ ।
गाउँपालिकाका आठओटै वडामा दुई सयभन्दा बढी गाईभैँसीमा यो रोगको सङ्क्रमण देखिएकाले स्थानीयवासीका गोठ गोठमा पुगेर गाईभैँसीलाई लम्पिस्किन विरुद्धको खोप अभियान सुरु गरिएकोे गाउँपालिका पशु विकास शाखा प्रमुख (भेटेरिनरी अधिकृत) कर्णप्रसाद खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म एकसय ३५ गाईभैँसीमा यो रोग विरुद्धको खोप लगाइएको छ । गाउँपालिकामा १६ हजारभन्दा बढी गाईभैँसीलाइ लम्पिस्किन विरुद्धको खोप लगाइने योजना रहेको छ । हालसम्म यो रोेगबाट खजुरामा २७ ओटा गाईको मृत्यु भइसकेको छ ।
गाउँपालिकाले लम्पिस्किन रोगको जोखिमयुक्त क्षेत्र पहिचान गरी गाईभैँसीमा फैलिएको महामारी नियन्त्रण गर्न पशु स्वास्थ्यकर्मीलाई खोपसहित किसानको गोठगोठमा खटाइएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले बताउनुभयो ।
रोगले महामारीको रूप लिन थालेपछि गाउँपालिका अध्यक्ष विक आफैँ भेटेरिनरी तथा पशु सेवा विज्ञ टोली लिएर नि:शुल्क भ्याक्सिन लगाउने काममा खटिनुभएको छ ।
रोग नियन्त्रणका लागि खजुरा गाउँपालिकाले आकस्मिक उपचार गर्न रु दुई लाख ५० हजार छुट्याएर औषधि पनि खरिद गरिएको उहाँले जानकारी दिनुभयो । (रासस)