काठमाडौँ । जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधान विपरीत काम गरेको भन्दै पाँच नेतालाई कारबाही गरेको छ ।
कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव रहेका सो पार्टीका केन्द्रीय प्रवक्ता शरद सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ भने मण्डल, भगवानदास यादव र खड्कालाई जनमत पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरिएको छ ।
त्यसैगरी, भोपेन्द्र यादवलाई पार्टीको सचिवालयबाट तीन महिनाका लागि निलम्वन गरिएको छ ।
सो पार्टीले विज्ञप्ति प्रकाशन गरी कुशवाहाले पार्टी अनुशान विपरीत काम गर्दै आएको तथा पार्टी नेतृत्व विरुद्ध लागेको, भोपेन्द्र यादवले केन्द्रीय नीतिको उल्लङ्घन गरी गुटबन्दी गरेको जनाएको छ ।
त्यस्तै, मण्डलले मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको, खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको तथा भगवानदास यादवले पार्टीका बैठक र कामकारबाहीका क्रममा होहल्ला गर्दै अनुशासनहीन काम गरेको सो विज्ञप्तिमा जनाइएको छ ।