काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन बरामद प्रकरणमा भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिएको छ।
भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको हो भने निलम्बित नायब सुब्बाको नाम खुल्न बाँकी छ । उनीहरू सुनको भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको राजस्व अनुसन्धान विभागका एक अधिकारीले बताए ।
बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अनुमानित सय किलो सुन विभागको टोलीले बरामद गरेको हो। सुनको परिमाण एकिन गर्न भने बाँकी छ।
गृहमन्त्रीले बोलाए महानिर्देशक
सय किलो सुन बरामद प्रकरणमा सोधपुछका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई बोलाएका छन्।
सुन बरामद घटनामा सोधपुछका लागि गृहमन्त्री श्रेष्ठले भन्सारका महानिर्देशक पौडेललाई आफ्नो मन्त्रालय बोलाएका हुन्।