काठमाडौं । तस्करीको सुन गायब गर्ने भन्सारका कर्मचारीसहित ५ जना कारागार चलान भएका छन् ।
चिनियाँ नागरिकले दुवईबाट ल्याएको तस्करीको सुन लुकाउने भन्सारका ३ जना कर्मचारीसहित ५ जना पुर्पक्षका लागि कारागार चलान भएका हुन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले भन्सारका नायव सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षागार्ड निर्मलकुमार बिक र व्यापारीहरु वेदप्रकाश अग्रवालर साहेव राय पाण्डुरङ पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। उनीहरुले लगेको सुन ६ करोडमा बिक्री गरेर रकम बाँडेर लगेको खुलेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु आगमन शाखाले २०७९ पुस २९ गते २ वटा सुटकेशभित्र ७३ वटा बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेटभित्र शंकास्पद बस्तु रहेको आशंकामा बरामद गरेको थियो। तर पछि ती सामान इलेक्ट्रिक सिगरेट नै भएको पाइएपछि विमानस्थलले साटिएको आशंकामा छानबिन गरेको थियो।