धनगढी । सुदूरपश्चिम प्रदेश सांसदले पाँच करोड रुपैयाँ तजविजी खर्च गर्न पाउने भएको छन् । ‘प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ को रकम पाँच करोड बनाएसँगै शनिबार राति प्रदेशको बजेट पारित भएको हो ।
सुदूरपश्चिमको बजेट पारित गर्न सत्तारुढ दलकै सांसदहरु तयार नभएपछि हरेक निर्वाचन क्षेत्रका लागि विनियोजित रकम तीन करोडबाट बढाएर पाँच करोड बनाउने लिखित सहमति भएपछि सांसदहरु बजेट पारित गर्न सहमत भएका थिए ।
एमाले सांसदको बहिष्कारबीच प्रदेशसभाबाट सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेट पारित भएको छ ।
योजना तथा रकम बाँडफाँटमा विभेद भएको भन्दै यथास्थितिमा बजेट पारित नगर्ने अडानमा रहेका सुदूरपश्चिमका सत्तारूढ दलकै सांसद संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा बजेट बढाएपछि सहमतिमा पुगेका थिए ।
आफ्नै सांसदको विरोधका कारण सुदूरपश्चिम सरकारलाई आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेट पारित गराउनै धौधौ बनेको थियो ।
सत्तारूढ सांसदले निर्णायक रूपमै अडान लिएपछि सरकारले सांसद विकास कोषमा हरेक निर्वाचन क्षेत्रका लागि विनियोजित रकम तीन करोडबाट बढाएर पाँच करोड बनाउने सहमति बनेपछि बजेट पारित भएको हो ।
३२ वटै निर्वाचन क्षेत्रका सांसदलाई रकम बढाउने निश्चित भएपछि तीनवटै सत्ता साझेदार पार्टीको संसदीय दलको बैठक बसेर बजेट पारित गर्ने निर्णय गरेका थिए ।
पटक–पटक प्रदेश सभाको बैठक सत्तारुढ दलकै सांसदहरुका कारण बस्न नसकेपछि बजेट पारित गर्न बोलाइएको बैठक भने प्रतिपक्षी एमालेले बहिष्कार गरेको थियो ।
प्रतिपक्षी दलबिनै बजेट पारित गर्नु संसदीय परम्पराविपरीत हुने भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले एउटा मात्र सांसद रहेको राप्रपाकी सांसद खिमादेवी विष्टलाई बैठकमा उपस्थित गराएका थिए ।
नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा सत्ता साझेदार माओवादी र एकीकृत समाजवादी छन् ।