जनकपुरधाम । आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका–९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ ।
दश/बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोगबाट पीडित उहाँ पछिल्लो समय आर्थिक अभावमा उपचार नगरी बस्नुभएको थियो ।
करिब तीन बिघा जमिन र लाखौँ ऋण काडेर उपचार गर्दा पनि छोरालाई सन्चो नभएपछि तनावमा रहनुभएका ७० वर्षीय बुबा उत्तिममानको आग्रहपछि इन्डो–नेपाल इन्डो फोरमले मुखियाको उपचारका लागि पहल गरेको हो ।
फोरमका उपाध्यक्ष डा पिके ठाकुरले आफूहररूको पहल तथा वीरगञ्जस्थित रहेको भारतीय महावाणिज्य दूतावासको सिफारिसमा भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार हुन लागेको जानकारी दिनुभयो ।
उहाँका अनुसार एम्सले मुखियाको उपचारका लागि सहयोग गर्ने बताएको छ । सो पत्रका आधारमा सकेसम्म नि:शुल्क र नभए न्यूनतम दस्तुरमा उपचार हुने जानकारी पाएका छौँ’, डा ठाकुरले भन्नुभयो ।
रामनाथका बुबा उत्तिममान मुखियाले पनि महावाणिज्य दूतावासको पत्र प्राप्त भएको र शुक्रबार नै छोरालाई लिएर भारतको राजधानी नयाँदिल्ली जान लागेको जानकारी दिनुभयो ।
छोराको स्वास्थ्य समस्या झनझन बल्झिँदै गएपछि धेरै ठाउँ चाहर्दा पनि कतैबाट सहयोग पाएका थिएनौँ, मुखियाले भन्नुभयो, ‘राससले समाचार लेखेको र डा ठाकुरले चासो राखेपछि अहिले उपचारको लागि पहल भएको छ र आजै उपचारका लागि जाँदैछौँ ।‘
७० वर्षीय उत्तीममानले छोरा रामनाथको उपचारका लागि गरेको सङ्घर्ष र आर्थिक अभावमा भोग्नुपरेको समस्याका बारेमा राससमा ‘उत्तिममानको पीडा: उपचारमै सकियो सम्पत्ति’ भनेर यसअघि समाचार प्रकाशित भएको थियो ।
उत्तिममानले बताएअनुसार माइलो छोरा रामनाथ मुखियालाई दश/बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोग लाग्यो । उपचारका लागि सम्भव भएसम्म नेपालका सबै अस्पताल र पछि छिमेकी भारतीय सीमामा रहेका धेरै अस्पताल पुर्याए पनि रोग निको भएको थिएन । पुर्खाबाट अंशमा पाएको करिब तीन बिघा जमिन र साहुँ महाजनबाट चक्रीय ब्याजदरमा लाखौँ ऋण लिएर उपचार गर्दा मुखिया परिवार समस्या छ ।
‘मैले उपचारका लागि हरसम्भव प्रयास गरे । जायजेथा बेचे, ऋण काँडे । अरु छोराहररूको कमाइ पनि उपचारमै खर्च गरे । आखिर बाबु न हुँ, उसको दु:ख र छटपटाहट कसरी हेरिबस्नु ? अहिले रित्तो छु, सम्पत्तिको नाममा केही बाँकी छैन’, आँखाभरि आँसु टिलपिलाउँदै उहाँले भन्नुभएको थियो ।
पाँच वर्षअघि डाक्टरले मासिक ३० हजार भारतीय रुपैयाँ पर्ने सान्डोस्टाटिन एलएआर नामक सुई लगाउन सिफारिस गरेका थिए तर पाँच वर्षअघि सुरु गर्नु भनिएको उपचार आर्थिक अभावमा अहिलेसम्म पनि सुरु हुन सकेको छैन । (रासस)