० तपाईंहरूको पनि निकै छिटो विवाह भएको रहेछ । कसरी विवाह भएको थियो, मागीविवाह नै हो ?
– त्यो बेला गाउँघरमा छिट्टै विवाह गर्ने चलन थियो । विवाहभन्दा पहिला हाम्रो चिनाजानी थिएन । पहाडमा हाम्रो घर एकैठाउँमा जस्तो रहेछ । उहाँको कास्की ढिकुरपोखरी र मेरो हेङ्जामा घर थियो । हिँडेर जाँदा एक घण्टा लाग्छ होला । उहाँका र मेरा बुबाहरू एउटै सालमा पहाडबाट झर्नुभएको रहेछ । हाम्रो चितवनकै सुन्दरबस्ती गाउँ र उहाँको भीमसेननगर भन्ने ठाउँमा बसाइँ सर्नुभएको हो । त्यहाँ पनि हिँडेर आउनजान बिस मिनेट समय लाग्छ । हाम्रो केही नाता पनि पर्छ । मावलीपट्टि वा कताबाट अलिकति सम्बन्ध थियो तर पहिला नै हाम्रो चिनजान त थिएन । मलाई माग्न त धेरै ठाउँबाट आएका थिए तर मेरो मामाले उहाँसँग नै विवाह गरिदिनुपर्छ भनेर जोड गरेपछि हाम्रो विवाह भएको हो । विवाहको कुरा चलिसकेपछि कहिलेकाहीँ बाटोमा हाम्रो भेट हुन्थ्यो । मेरो केटा यही हो भन्ने हुन्थ्यो तर बोलचाल भने हुँदैनथ्यो । वास्तवमा हाम्रो विवाह भएको लामो समयपछि मात्रै बोलचाल भयो । उहाँ पनि केटाकेटीमा लाज मान्ने, म पनि झन् महिला ।
० अध्यक्ष प्रचण्डको पारिवारिक भूमिका कस्तो रह्यो ?
– हाम्रो बिहे हुँदा उहाँ पन्ध्र वर्षको हुनुहुन्थ्यो । बिहेपछि केटाकेटीदेखि नै सँगै जन्मेको, सँगै हुर्केको जस्तो भयो । सानैमा विवाह भएकोले हामी साथी र दिदीभाइ जस्तो थियौँ । विवाह भएपछि थाहा भयो, उहाँले घरका भाइबहिनीलाई गर्ने व्यवहार राम्रो थियो । घरमा दिदीबहिनी र दाजुभाइमा त्यस्तो झगडा हुँदैनथ्यो । गाउँमा कतै कतै झगडा हुँदाखेरी काहिली आमाले उहाँलाई देखाएर भन्नुहुन्थ्यो– यसले झुटो बोल्दैन, झगडा मिलाइदिन्छ । छोराछोरीलाई दिने समय त दिनुभएन । मैले र उहाँ दुवैले दिन सकेनौँ भन्दा हुन्छ । राजनीतिमा लागेपछि त्यस्तै भयो ।
० छोराछोरीसँगको उहाँको व्यवहार कस्तो पाउनुभएको छ ?
– उहाँले छोराछोरीलाई कहिल्यै नियन्त्रण गर्नुभएन । सामन्तले गर्ने जस्तो नियन्त्रण त हुने कुरै आएन । उनीहरूसँग पनि साथीभाइ जस्तै ठट्टामजाक नै गर्नुहुन्छ । छोराछोरी र बुबाको जस्तो दुरी छैन ।
० तपाईं कसरी राजनीतिमा लाग्नुभयो नि ?
– उहाँले मलाई के बुझाउनुभएको थियो भने यो राजनीति भनेको यस्तो चिज हो, यसले पीडित महिलालाई अधिकार दिन्छ । कम्युनिस्ट समाजमा धनीगरिब हुँदैन । सबै बराबर हुन्छ । त्यसका लागि लड्नुपर्छ । यो कुरा बुझेपछि राजनीति भन्ने चिज ठिक रहेछ भन्ने कुराले भित्रसम्म गहिरो प्रभाव पर्यो ।
० हिजो उहाँलाई पन्ध्र वर्षको उमेरमा पाउँदा र अहिले देशको महŒवपूर्ण नेताको रूपमा पाउँदा कस्तो अनुभूति भइरहेको छ ?
– बच्चादेखि नै सङ्गत भएकाले त्यस्तो ठुलो र अनौठो केही महसुस भएको छैन । एउटा श्रीमतीको भूमिका पनि खेलेँ । एउटा महिला भएको नाताले आमाले खेल्ने भूमिका पनि प्रशस्तै खेलेँ । बिहे हुँदा उहाँ दस कक्षामा पढ्दै हुनुहुन्थ्यो । त्यो बेलादेखि नै ‘यो गर्नुस्, त्यो नगर्नुस्’ भन्थेँ । एउटी आमाले बच्चालाई ‘तिमीले नुहाउनुपर्छ, नुहाऊ’ भने जस्तै पति भए पनि सुझाव दिने गर्दथेँ ।
० अध्यक्षको सबभन्दा राम्रो वा नराम्रो बानी के होला जस्तो ठान्नुभएको छ ?
– नराम्रो नै भन्ने त त्यस्तो केही देखेको छैनँ तर पनि सामान्यतया त्यस्तो अवगुण हुँदै नहुने कुरा भएन । संसारमै नभएको चिज हामीसँग मात्रै हुने कुरा पनि होइन । कहिलेकाहीँ उहाँ अलि झट्ट रिसाउने जस्तो गर्नुहुन्छ । उहाँको राम्रो पक्षमा हेर्दा उहाँ एकदमै सरल हुनुहुन्छ । उहाँमा केटाकेटीदेखि वृद्धवृद्धासँगसम्म पनि मिल्न सक्ने गुण छ । मान्छेसँग प्रस्तुत हुँदा र छलफल गर्दा अति सहज र सरल नै हुनुहुन्छ । बुझ्ने गरी कुरा गर्नुहुन्छ ।
० अहिले कस्तो महसुस भइरहेको छ ?
– अहिले खासै त्यस्तो फरक लाग्दैन । काम गरिएको थियो, त्यसकै फल मिलेको जस्तो लाग्छ । त्यो बेला देश र जनताका लागि गर्दै जानुपर्छ, गर्दै जाँदा भए होला, नभए पनि केही छैन भनेर लागियो । अहिले भने केही सन्तुष्टि मिलेको छ ।
० अध्यक्षलाई शारीरिक रूपमा केही समस्या भएको छ कि छैन । उहाँको स्वास्थ्य कस्तो छ ?
– त्यस्तो त खासै केही छैन । उच्च रक्तचाप छ । जनयुद्धको बेला त्यस्तो केही समस्या थिएन । काठमाडौँ आएपछि त्यस्तो समस्या देखिएको हो । यहाँ आएपछि नियमित खान पाउनुभएको छैन । कहिले कहाँ, कहिले कता यस्तै भइरहन्छ ।
० पहिले त उहाँ पातलो हुनुहुन्थ्यो, अहिले मोटो हुनुहुन्छ त ?
– उसबेला त दुब्लोपातलो नै हुनुहुन्थ्यो । बुढेसकाल लागेपछि मोटाउन थाल्नुभएको हो । उहाँको तौल त ठ्याक्कै थाहा छैन ।
० भनिन्छ, पार्टीमा अन्तरसङ्घर्ष हुँदा पार्टी फुट्नबाट जोगाउन तपाईंको पनि भूमिका रह्यो । यहाँले कस्तो भूमिका खेल्नुभएको थियो ?
– मैले पार्टीमा एकता कायम हुनुपर्छ भनेर खेलेको भूमिका पार्टीबाहिर र भित्र दुवैतिर थाहा भइसकेको कुरा हो । त्यो बेला मैले आफूले कुनै पनि हालतमा पार्टी फुट्नुहुँदैन, एकता हुनैपर्छ भनेर अध्यक्ष र डा. बाबुराम भट्टराई दुवैलाई दबाब दिएकी थिएँ । चुनवाङ बैठकभन्दा अघिल्लो लाहावाङ बैठकमा म बिरामी थिएँ । म भारतमा उपचाररत थिएँ । पार्टीभित्र कच्याक्कुचुक् त पहिलादेखि नै भइरहेको थियो । त्यो बैठकमा धेरै नै विवाद भयो रे भनेपछि मलाई एकदम चिन्ता लाग्न थाल्यो । म नगएर गल्ती गरिछु भन्ने लाग्यो ।
प्रचण्डजीले तुरुन्तै आउनुपर्यो भनेपछि गएँ । त्यहाँ गएपछि चिज गडबड भएको थाहा भयो । पासाङ र विप्लवहरूलाई थाहा छ, मैले ‘यसरी जानुहुँदैन, जसरी हुन्छ, पार्टी बचाएर लानुपर्छ’ भन्थेँ । पतिको नाताले अध्यक्षलाई त आफूले सकेको बुद्धि दिन्थे । पार्टी फुटेर गइहाल्यो भने पनि पार्टीभित्र झन् नराम्रो मान्छे आउँछ भन्ने ढङ्गले सम्झाउँथेँ अनि बाबुरामजीलाई पनि भन्थेँ : ‘माओवादीले गर्दा संसार पनि हल्लिएको छ तर तपाईंहरू झिनामसिना कुरामा अड्किएको जस्तो लाग्यो मलाई । तपाईंको पनि गल्ती छ । उहाँले पनि कमजोरी गर्नुभएको छ ।’
म जे देख्छु, त्यही भन्छु भनेर अध्यक्ष र बाबुरामजीलाई कुरा राख्थेँ । चुनबाङमा केन्द्रीय कमिटी बैठकमा म पनि गएकी थिएँ । त्यो बेला मैले भनेकी थिएँ : ‘चिज बिग्रिएको छ, दुवै जनाले गल्ती गर्नुभएको छ । दुवैतिरबाट सच्चिएर पार्टी बचाएर लैजानुपर्छ । कुनै हालतमा पनि पार्टीलाई फुटाउन पाइँदैन ।’ मैले यसरी कुरा राखेँ : ‘यत्रो जनताको रगत बगिसकेको छ । तपाईंहरूको के हो यस्तो ताल ? यस्तो गर्न पाउनुहुन्न । यस्तै गर्ने हो भने त तपाईंहरूलाई जनता र विदेशी मित्रहरूले पनि छाड्दैनन् ।’
० अहिलेसम्म जनयुद्धमा अध्यक्ष प्रचण्डलाई कसरी सहयोग पुर्याउनुभयो ?
– मलाई लाग्छ, मैले उहाँलाई धेरै सहयोग गरेँ । जनयुद्ध सुरु हुनुभन्दा पहिला पनि घरपरिवार, छोराछोरी सब त्यागेर यो पार्टीमा जसरी लाग्दै आएँ र जनयुद्धमा पनि म उहाँ सँगसँगै छु । प्राय: एकाध दिन छुट्टिएँ हुँला । हरेक ठाउँमा मैले धेरै भूमिका खेलेको छु ।
० तपाईंले नै उहाँलाई सुरक्षित गराएका घटनाहरू उल्लेख गरिदिनुस न ?
– त्यस्ता घटना त धेरै छन् । ठ्याक्कै मेरो बलले उहाँलाई बचाएका मुख्यत: दुईटा घटना छन् ।
एकपटक सात वर्षअगाडि भारतमा अलकायदाको खुब चर्चा र खोजी भइरहेको थियो । उहाँ र म दिल्लीबाट गोरखपुर आउँदै थियौँ । रेलको एउटा सिटमा हामी दुई जना सुतेर आएका थियौँ । एउटाको टाउको अर्कोको खुट्टा यता बनाएर, उल्टोपाल्टो हुँदै । त्यहाँ इन्डियन प्रहरीले रेलका सारा महिला, बच्चा, वृद्धदेखि लिएर कागजपत्रसमेतको सम्पूर्ण जाँच गर्दै थियो । उहाँले हाम्रो ठुलो झोलामा माओवादी डकुमेन्ट, पुस्तक र लेख राखेर ल्याउनुभएको थियो ।
मैले दिल्लीमा नै उहाँलाई भनेकी थिएँ : ‘अहिले किताब नलैजाऔँ । हाम्रो स्टाफ पछि आउँदै हुनुहुन्थ्यो । बाइचान्स चेक भयो भने सबै पर्छ । तपाईं नबोक्नुस् ।’ यति भन्दाभन्दै उहाँले लिएर आइहाल्नुभयो केही हुन्न भनेर । उहाँले रेलमा ती सबै सामान सिरानीमा हालेर बस्नुभएको थियो ।
इन्डियामा रहँदा दुनियाँ नाटक गरेर बस्नुपर्दथ्यो । म पनि प्राय: हातभरि चुरा, गहना वा त्यस्तै पहिरन लगाएर हिँड्थे । माओवादी महिला जस्तो ‘सिम्पल’ भएर हिँड्नुको सट्टा गृहिणी महिला जस्तो भएर हिँड्थेँ । त्यो आफूलाई जोगाउन गरिन्थ्यो । रेलमा सबै मान्छेको चेक गरियो । म निद्रामा रहेछु । चेक गरेको थाहा पाएर म ब्युँझिएँ । यसो हेर्छु त पुलिसले सारा झोला र खल्ती चेक गरिराखेको छ, अरूलाई उठाइरहेको पनि छ । फेरि त्यही बेला उहाँले जुँगा पनि पाल्नुभएको थियो । दाह्री पनि लामो भइसकेको थियो । मुख्यत: मुसलमानले प्रायजसो दाह्री पाल्ने । त्यतिखेर दाह्रीजुँगा भएका मुसलमानकै खोजी भइरहेको थियो । त्यसपछि मलाई कस्तो भयो भने के गर्ने के नगर्ने ? उहाँ त तन्ना ओढेर सुतिरहनुभएको थियो । खुट्टाले झकझकाएर सङ्केत गरेँ : ‘तपाईं चुप लागेर सुत्नुहोस् ।’ त्यो सङ्केत पाएपछि उहाँले बुझ्नुभो । म गृहिणी महिला जस्तो यताउता गर्दै बसेँ । त्यसपछि सबैलाई चेक गर्दा पनि हामीलाई गरेन र बल्लतल्ल बचियो ।
अर्को त्यस्तै घटनामा २०६० सालमा सुरेश आलेमगर र मातृका यादव पक्राउ भएको बेला थोरै संयोगले उहाँलाई बचाइएको छ । घटना दिल्लीकै हो । त्यहाँ हामी सँगै थियौँ । साथीहरूसँग कुरा गरेर डेरामा फर्किँदै गर्दा साँझ परिसकेको थियो । उहाँले ‘म त सुरेश आलेको डेरामा जान्छु, मातृका पनि आउनुभा’को छ, कुराकानी गर्नुछ’ भन्नुभयो । मैले ‘राति भइसक्यो अहिले नजानुहोस्’ भनेँ । दुई/तीनपटक जुत्ता लगाउँदै बाहिर जाँदै गर्नुभयो । मैले कराएको करायै गरेपछि फर्केर भित्र कोठामा आउनुभयो ।
भोलिपल्ट बिहान ९ बजेको थियो होला । उहाँले ‘म जान्छु’ भन्न थाल्नुभयो । मलाई के लागेको थियो भने सुरेशजी त यताउता भाषण गर्दै हिँडिराख्ने मान्छे, त्यहाँ सुरक्षित नहुन सक्नु हुन्छ । त्यसैले पतिलाई सम्झाउने तरिकाले कुरा गरेँ । ‘उहाँहरू कोठामा हुनुहुन्छ कि हुनुहुन्न, त्यो बुझेर मात्रै जानुपर्छ’ भनेँ । त्यसपछि उहाँले स्टाफलाई फोन गरेर सुरेशजीकहाँ बुझ्न लगाउनुभो । पहिलोपटक जाँदा नभएको खबर लिएर साथी आउनुभएछ । दोस्रोपटक बादलजीको स्टाफलाई पठाउँदा त त्यहाँको चिया पसलेले भनेछन्– ‘ती मान्छेहरूलाई त बेलुकै पुलिसले लगिसक्यो ।’
त्यसरी यी दुईटा घटनामा म नजिकबाट सामेल भएको छु ।
० रोल्पाको डाँडागाउँमा पनि अध्यक्ष रौँरौँले बच्नुभएको रहेछ, होइन ?
– रोल्पामा त जनतामाझ बस्ने गर्दथ्यौँ । त्यहाँ हामी बसेको घरमा बमबारी पनि गर्यो । त्यहाँ पनि मैले चेताउने काम अलि पहिलेदेखि नै गरेकी थिएँ । उहाँहरूलाई भन्थेँ : ‘अब हामी यहाँ नबसौँ । यहाँ बसेको लामो समय भइसक्यो । जनता सदरमुकाम आउँछन्–जान्छन् । त्यो भएपछि लिक हुन सक्छ, खतरा हुन सक्छ ।’
बमबारी हुनुभन्दा पाँच दिनअगाडि पासाङलाई पनि भनेकी थिएँ : ‘अब यहाँ त बस्नुहुन्न है बाबु । त्यसपछि उहाँहरूले ‘ठिक हो’ भनेर सरेको दुई रात मात्र भएको थियो, बमबारी गरिहाल्यो ।
० जनयुद्धको बेला आफू पनि मरिन्छ कि भन्ने डर वा चिन्ता केही भएन ?
– त्यस्तो भएन । मलाई के भयो कुन्नि, त्यस्तो डर लागेन तर पनि मान्छे भएपछि डरै नलाग्ने कुरा पनि भएन । बमबारी हुँदा वा दुस्मनको नजिक पर्दा मलाईभन्दा पनि उहाँलाई केही भइहाल्यो भने के होला ? देश र जनता आज यो ठाउँमा आइपुगेको छ । पार्टीभित्रको अन्तरद्वन्द्व पनि सबै बुझिएको छ । उहाँको अनुपस्थितिमा जनता पनि टुहुरा हुन्छन् । त्यसैले उहाँलाई केही हुनुहुन्न भन्ने खालको बढी चिन्ता थियो ।
(२०८० असार २६ गते बुधबार निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीता दाहालको जन्म २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट भएको थियो । २०२६ सालमा प्रचण्डसँग विवाह भएकी दाहाल दम्पत्तिका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ ।)
सेतो पाटी डट कमबाट