काठमाडौँ । आइ.सी.सी. विश्वकप छनोट–२०२३ को समूह चरणको अन्तिम खेलमा नेपालले जित्नैपर्ने अवस्था सृजना भएको छ । त्यस क्रममा भोलि असार ९ गते नेपाल नेदरल्यान्ड्ससँग खेल्दै छ ।
जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जितको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दै छ । नेपाल र नेदरल्यान्ड्समाझको खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजे हुने छ ।
प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपालले कुनै पनि हालतमा नेदरल्यान्ड्सलाई जित्नैपर्ने हुन्छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स हालसम्म दुई पटक भिडे्का छन् । दुवै टोलीले समान एक/एक जित हासिल गरेका छन् ।
जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ ।
त्यसैगरी, जिम्बावे र वेस्टइन्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान करिब सुनिश्चित गरिसकेका छन् ।
अब समूह ‘ए’ बाट तेस्रो टोलीको रूपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक देश सुपर सिक्समा प्रवेश गर्नेछन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले पराजित गरेको थियो ।
त्यस्तै, तेस्रो खेलमा वेस्टइन्डिजसँग १०१ रनले पराजित भएको थियो ।
नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग छ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो ।
यससँगै तीन खेलपछि नेपालको दुई अङ्क छ भने दुई खेल खेलेको नेदरल्यान्ड्सको पनि समान दुई अङ्क नै छ । नेपाल अङ्कतालिकाको चौथो स्थान र नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।

