काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानुनमा कतै पनि नलेखिएको बताउनुभएको छ ।
असार ५ गते मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै असार ६ बुधबार मन्त्री शर्माले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको भन्दै बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानुनमा कतै पनि नलेखिएको बताउनुभएको हो ।
उहाँले नेकपा हुँदा पनि बजेटमा असन्तुष्टिहरू आएको भन्दै उहाँले बजेटमा असन्तुष्टि जनाउनु स्वाभाविक भएको बताउनुभयो ।
उहाँले बजेट संशोधन गरेर जाने बारेमा छलफल भइरहेको पनि बताउनुभयो । उहाँले बजेट संशोधन हुँदैमा सरकार ढल्ने भन्ने कुरा परम्परागत भएको उल्लेख गर्दै परम्परालाई तोड्नुपर्ने बताउनुभयो ।
मन्त्री शर्माले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति लक्षित गर्दै स्टन्टभन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले दक्षिण भारतीय चलचित्र “आदिपुरुष” मा रहेको सीता भारतकी छोरी हुन् भन्ने शब्द हटाएर मात्रै सेन्सर बोर्डले चलचित्र चल्न दिएको बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिको उपचार खोज्न नभई स्वास्थ्य उपचारका लागि नै सिङ्गापुर गएको बताउनुभयो ।