काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अहिलेको बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताएका छन् ।
मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताएका हुन् ।
उनले नेपालको अथाहा सम्भावना भएको भनिएको पर्यटन क्षेत्र भन्दा पनि ठूलो सम्भावना आईटी क्षेत्रमा रहेको बताए । उनले सरकारले बजेट आईटी क्षेत्र प्राथमिकता दिनसके मात्रै पनि आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउन सकिने बताए । उनले सरकार आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउने बाटोतर्फ लैजाने बजेटमार्फत कुनै सोच विचार नगरेको दाबी गरे ।
सांसद डा.वाग्लेले नेपालमा आईटी क्षेत्रको सम्भावना र विदेशको काम गर्ने नेपाली कति छन् भन्ने अध्ययन अहिलेसम्म नगरेको बताए । उनले निजी क्षेत्रबाट भएको अध्ययनको प्रारम्भिक तथ्यांकहरू सुन्दा नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउने अनुमान गर्न सकिने बताए ।
नयाँ रूपान्तरणकारी सेक्टरमा सरकारले झारा टार्ने गरी डिजिटल अर्थतन्त्र अपनाइने छ भन्ने भाषामा मात्रै खुम्चिएको आरोप लगाए । उनले आईटी क्षेत्रमा जुन रूपान्तरणकारी सम्भावना त्यसलाई अहिलेसम्म सरकारले सम्बोधन गर्न नसकेको बताए । उनले निजी क्षेत्रले निकालेको आँकडाअनुसार करिव सात हजार ६३७ वटा आईटी कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता रहेको बताए ।
उनले करिव सात हजार जतिले ट्याक्स तिर्ने गरेको भन्दै १०६ वटा एक्स्पोर्ट ओरेन्टेड आईटी एक्सपोर्टर रहेको जानकारी दिए । उनले फ्री लेन्सर भएर कोठामै बसेर काम गर्नेहरू ६६ हजार ५०९ रहेको बताए । यसरी काम गर्नेहरुको औसत आम्दानी लगभग चार हजार ७२३ डलर रहेको भन्दै प्रतिवर्ष पाँचहजार डलर आम्दानी गरिरहेको उल्लेख गरे ।
उनले अहिले युद्ध भइरहेको युक्रेन मुलुकको वार्षिक औसत प्रतिव्यक्ति आय पाँच हजार डलरकै हाराहारीमा रहेको बताए । उनले आईटी क्षेत्रमा शुरुवात लेबलमा नै करिव ३ हजार,मध्यम लेबलमा ६ हजार ३९५ र सिनियर लेबलकाहरूले नेपालमा नै बसीबसी १५ हजार ३२२ डलर आम्दानी गर्ने गरेको बताए । उनले १५ हजार ३२२ प्रतिव्यक्ति आय रूस, चीन र मलेसियाको प्रतिव्यक्ति आयभन्दा माथि भएको दाबी गरे ।
सांसद वाग्लेले यति डाइनामिक सेक्टर नेपालमा रहेको दाबी गरे । उनले चिया खाएर कुनामा बसेर काम गरिरहेको मान्छेले दुनियाँको बिग इकोनोमीसँग काम गरिरहेको बताए ।
उनले अहिले करिव ५१५ मिलियन डलरको आम्दानी नेपालमा बसेर वार्षिक रुपमा गराइरहेको बताए । उनले कम्पनीगत हिसावले २०१ र फ्रि लेन्सरहरुबाट करिव ३१४ मिलियन रहेको बताए । जुन गत साल पर्यटनबाट आयको ४६ खर्ब आम्दानी भएकोमा आईटीबाट मात्रै ६० अर्ब आएको बताए । उनले यस्तो क्षेत्रलाई सरकारले कुनैपनि शिर्षकमा प्राथमिकता नदिएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले आईटी क्षेत्रमा २०१९ साल देखिको ऐनलाई नै टेकेर काम गरिरहेको बताए । उनले आईटी क्षेत्रको विकासका लागि भएका ऐन तथा नियमलाई सुधार गर्दै जानुपर्ने बताए । उनले सरकारले ल्याएको बजेट आर्थिक सुधारको नेतृत्व आवश्यक संस्थागत अभिमुखिकरण र तयारी नभएको बताए ।
उनले आर्थिक सुशासन र स्वच्छ नियमनको जगमा गतिशित प्रतिष्पर्धात्मक अर्थतन्त्र बनाउन विश्वनिय जग नदेखिएको पनि बताए । उनले बजेटको भाषणमा शुद्धाशुद्धी मिठास मिलाएर प्रश्तुत गरे पनि डर लाग्दो हेलचेक्राँई गरि ल्याएको उल्लेख गरे ।