काठमाडौँ । दक्षिण भारतको एउटा फिल्मको संवादमा जानकीलाई भारतकी छोरी भनिएपछि काठमाडौँ महानगरपालिकाले २०८० असार ४ गते सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने (नो इन्ट्री) तयारी गरेको छ ।
नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जनाएको हो ।
मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिएको छ ।
‘मेयरको निर्देशनपछि असार ४ गतेदेखि काठमाडौँ महानगरका सबै हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय भएको छ । यसका लागि नगर प्रहरी आजैदेखि खटेका छन्’ सचिवालयले भन्यो ।
काठमाडौँ महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।
यसबारे मेयर शाहले फेसबुकमा लेखेका छन्– “काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’
प्रतिबन्ध किन ?
उनले उक्त फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएकोतर्फ पनि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
फिल्म “आदिपुरुष” बाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय फिल्मलाई सोमबारदेखि निषेध गरिएको उनले जनाएका छन् ।
दक्षिण भारतीय फिल्म “आदिपुरुष” मा समावेश “जानकी भारतकी छोरी हुन्” भन्ने वाक्यलाई सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत् तीन दिनको अल्टिमेटम दिएका थिए । आइतबार तीन दिन सकिँदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका हुन् ।
आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशिरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् ।
मन्त्रालयलाई पनि चिठी
मेयर शाहले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि पत्र पठाउँदै उक्त आपत्तिजनक संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गर्दै पत्र पठाएका थिए ।
यसैबिच, चलचित्र सङ्घका पूर्व अध्यक्ष समेत रहेका प्रदीपकुमार उदयले बुटवलस्थित आफ्नो हल द्वारिकाउदय सिनेमाजबाट चल्दाचल्दैको फिल्म “आदिपुरुष” लाई उतारेका छन् । उक्त सिनेमा हल अहिले बन्द गरिएको छ ।