कावासोती । लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कौलीमा ‘इन्द्रपूजा’ गरिएको छ ।
देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदीकिनार स्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिक रूपमा इन्द्रको पूजा गरेका हुन् ।
जेठको अन्तिम हुँदा पनि पानी नपर्दा खडेरीका कारण खेतबारीमा लगाइएको तरकारी तथा अन्नबालीका साथै फलफूल सुक्न थालेपछि स्थानीयले पानी पारिदिन आग्रह गर्दै वैदिक मन्त्रसहित इन्द्रको पूजा गरेका हुन् ।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष तिलप्रसाद पाठकले मन्दिरमा पूजाआजा गरी नजिकै रहेको नारायणी नदीकिनारमा पुगेर पानी मागिएको बताउनुभयो ।
जेठको सुरुदेखि नै तापक्रम वृद्धि भइरहेको दुम्कौलीमा २०८० जेठ २६ गते शुक्रबार यस वर्षको सबैभन्दा बढी ४४ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
दिव्यधाम मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णचन्द्र बस्ताकोटीले गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले खेतबारीमा लगाएको मकै सुकेका बताउनुभयो ।
“घोगा लाग्ने बेलाको मकै खडेरीका कारण झर्यामझुरुम भएर सुकेको छ” उहाँले भन्नुभयो– “मकै मात्रै होइन कृषकले लगाएको केराबाली सुक्न लागे पानी नपर्दा बर्खे धानको बिउ राख्नसमेत ढिला भइसकेको छ ।”