रुपन्देही । राष्ट्रिय जनमोर्चा रुपन्देहीले भारतको संसद भवनमा नेपाली भूभाग समेटेर राखिएको नक्सा र राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
शुक्रबार लालचन्द पन्थमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राजमोका जिल्ला अध्यक्ष बद्रे आलमले भारतीय साम्राज्यवादले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो नक्सामा सामेल गरेको घटना पहिलो पटक नभएर पटक–पटक भएको बताउनु भयो ।
उहाँले यो भन्दा पहिले कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि आफ्नो नक्सामा गाभेको बताउनु भयो ।
नेता आलमले भन्नुभयो, ‘नेपालप्रति हेपाह प्रवृति हो। एउटा सार्वभौम देशको लागि यो धेरै नै दुःखदायी घटना हो। राष्ट्रिय जनमोर्चा भारतीय साम्राज्यवादको घोर भर्त्सना गर्दछ ।’
उहाँले अगाडि भन्नुभयो, ‘राष्ट्रपतिले राष्ट्रघाती नागरिकता विधेयक प्रमाणित गरेका छन्। यो विधि शास्त्रीय र संवैधानिक रूपले पनि गलत छ । यो कार्यबाट गैरनागरिकले ठूलो संख्यामा नागरिकता पाउने छन् । देशका वास्तविक नागरिक अल्पमतमा पर्नेछन् । प्रधानमन्त्रीको भारत भ्रमण भारतीय पक्षले दुर्व्यवहार गरेको छ । नेपालको अन्तर्राष्ट्रिय बेइज्जती गरेको छ । यसको कडा शब्दमा विरोध गरिनुपर्छ।’ विरोध सभाको सञ्चालन टानबहादुर केसीले गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर । भारतीय साम्राज्यवादद्वारा लुम्बिनी कपिलवस्तु सहितका नेपाली भूमि भारतीय नक्सामा राख्ने कार्यको विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नारासहित देशैभर विरोधका कार्यक्रम गरिरहेको छ ।
