काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कदमप्रति कांग्रेसका युवा नेताहरुले ऐक्यबद्धता जनाएका छन् ।
पार्टीकै केन्द्रीय सदस्य बालकृष्ण खाँण पक्राउपछि सिंहदरबार पुगेका तेस्रो पुस्ताका नेताहरुले उनलाई कसैको प्रभाव र दबाबमा नपरी अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारबाही गर्न सुझाव दिएका हुन्।
कांग्रेस इतर पक्षका नेताहरु रन्जित कर्ण, गुरुराज घिमिरे, गोबिन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्य लगायतको नेता, कार्यकर्ताको टीमले गृहमन्त्री श्रेष्ठलाई भेटेका थिए।
भेटमा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने बताए ।
कांग्रेस नेताहरुसँग गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको प्रवृत्ति नतोडेसम्म मुलुक बन्दैन भन्दै यो विषयमा सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाएको भेटमा सहभागी एक नेताले बताए।
कांग्रेस नेता तथा पूर्वगृहमनत्री बालकृष्ण खाँणसहित १२ जना पक्राउ परिसकेका छन् । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी भने फरार छन् ।
यस्तै, कांग्रेस सांसद्वय आरजू राणा र मञ्जु खाँणको पनि नाम मुछिएको छ । सांसद राणा कांग्रेस सभापति शेरबहादुर देउवाको पत्नी हुन् ।