काठमाडौं । सीमा अतिक्रमण र एमसीसी विरुद्ध संघर्षरत नेकपा (मसाल) लगायत नौ राजनीतिक दल तथा संगठनले आज लगनखेलमा जनसंवाद कार्यक्रम गरेका छन् । कार्यक्रममा सर्वसाधारण र नौ दलका शीर्ष नेताहरुबीच एमसीसी र सीमा अतिक्रमणबारे दोहोरो संवाद भएको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपानेले जानकारी दिनुभयो ।सम्वादमा नेताहरुलाई विभिन्न प्रश्न सोधिएको थियो भने शीर्ष नेताहरुले जवाफ दिएका थिए।
कार्यक्रममा जगत रेग्मी, मधु क्षेत्री, शिवहरि खनाल, केदार गिरि, लक्ष्मी अधिकारी, राजकुमार विक, अर्जुन राई, तिकल थापा लगायतले सीमा अतिक्रमण एमसीसीलगायत विषयमा जारी आन्दोलन अझ व्यवस्थित र सशक्त रुपमा अगाडि बढाउन आग्रह गरेका थिए । यस्तै, एमसीसी सम्झौता खारेजीको आन्दोलनलाई मिडियामा व्यापक प्रचार प्रसार गर्न पनि सुझाव दिएका थिए ।
कार्यकर्ता तथा सर्वसधारणले नौ दलीय गठबन्धनको मोर्चाले पार्टी एकता गरेर अगाडि बढ्न सक्छ कि सक्दैन ? भन्ने जस्ता प्रश्न गमेत गरेका थिए । जवाफमा नेताहरुले आफ्नो एजेन्डा अहिले पार्टी एकताको विषय नभएर राष्ट्रियता रक्षाको विषय भएकोले राष्ट्रियताको सवालमा एकजुट भएको स्पष्ट पारेका थिए ।
कार्यक्रमलाई सम्बोधनका क्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले एमसीसीमार्फत दक्षिण एशीयाका विभिन्न देशलाई आर्थिक सहयोगका नाममा अमेरिकाले चीन घेर्ने नीति लिएको बताउनुभयो । सरकारले यो कुरा बुझेपनि अमेरिकी साम्राज्यवादका अगाडि घुँडा टेकेको आरोप पनि लगाउनुभयो ।एमसीसी नेपालको हितमा नभएको उल्लेख गर्दै अमेरिकाले सहयोगको नाममा एमसीसी भित्राएर नेपालमा अमेरिकी सेनाको अखडा बनाउन खोजेको समेत दावी गर्नुभयो ।
https://www.youtube.com/watch?v=aRX6QSLF7Ps&feature=share&fbclid=IwAR0QESVRtHDwU4rdBNl3iMYtVifzhraZxAeKe1RiN36FIipMYlD11zd4EL8
यस्तै उहाँले भारतले नेपालको कालापानी लगायतका क्षेत्रमा भारतले गरिरहेको अतिक्रमण हटाउन सरकारले पहल नगरेको बताउनुभयो । उहाँले जनताले दह्रो साथ दिएपनि ओली सरकार सत्ता ढल्ने चिन्ताले भारतसँग लम्पसरा भएको आरोप पनि लगाउनुभयो ।
त्यस्तै, नेकपा (माले)का स्थायी कमिटि सदस्य सुरेन्द्र ढकाल, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, नेकपाका सहसयोजक लोकनारायण सुवेदी, नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तिलक थापा, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुभाषराज काफ्ले, राष्ट्रिय जागरण परिषद्का सचिव हेमन्त सेडाइले सम्बोधन सम्वोधन गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपानेको सञ्चालनबाट अघिबढेको कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी कमिटि सदस्य दिनेश शर्माले गर्नुभएको थियो ।
यस्तै, सोही विषयमा फागुन ८ गते नयाँ बानेश्वरमा विरोध सभाको आयोजना गरिनेछ । माइतीघर मण्डलाबाट जुलुशसहित बानेश्वर पुगेर विरोध सभा गर्ने तयारी गरिएको राजमो नेता न्यौपानेले जानकारी दिनुभयो । विरोध सभालाई नौ वटै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।


यो पनि पढ्नुहोस्ः
एमसीसी विरुद्ध नौ दलः सोमबार लगनखेलमा जनसंवाद
एमसीसी विरुद्ध नौ दलः प्रधानमन्त्री र सभामुखलाई ज्ञापन बुझाइयो, अब सडक संघर्ष
उपत्यकाका तीनै शहरमा यस्तो रह्यो एमसीसी विरुद्ध प्रदर्शन