काठमाडौं । सीमा अतिक्रमण र एमसीसी विरुद्ध संघर्षरत नेकपा (मसाल) लगायत नौ राजनीतिक दल तथा संगठनले सोमबार लगनखेलमा बृहत जनसंवाद कार्यक्रम गर्ने भएका छन् । कार्यक्रममा सर्वसाधारण र नौ दलका शीर्ष नेताहरुबीच एमसीसी र सीमा अतिक्रमणबारे दोहोरो संवाद हुने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपानेले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेकपा (माले)का महासचिव सिपी मैनाली, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराँती, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुभासराज काफ्ले, राष्ट्रिय जागरण परिषद्का साध्यबहादुर भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम दिउँसो १ बजे लगनखेलस्थित बसपार्कमा हुनेछ ।
८ गते बानेश्वरमा विरोध सभा
यस्तै, सोही विषयमा फागुन ८ गते नयाँ बानेश्वरमा विरोध सभाको आयोजना गरिनेछ । माइतीघर मण्डलाबाट जुलुशसहित बानेश्वर पुगेर विरोध सभा गर्ने तयारी गरिएको राजमो नेता न्यौपानेले जानकारी दिनुभयो । विरोध सभालाई नौ वटै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
एमसीसी र सीमा अतिक्रमण विरुद्ध चरणबद्ध संघर्ष गर्दै आएका नौ राजनीतिक दलले गत माघ २४ गते सातवटै प्रदेशमा संयुक्त विरोध सभा गरेका थिए भने आइतबार जिल्लाहरुमा प्रदर्शन गरेका थिए ।
यस्तै, प्रधानमन्त्री र सभामुखलाई भेटेरै एमसीसी संसदबाट पास नगर्न उनीहरुले आग्रह गरेका छन् । एमसीसी कुनै पनि हालतमा पास गर्न नहुनेमा नौ दल एकमत छन् । त्यसका साथै सरकारले अतिक्रमित भूमिसहित समेटेर नयाँ नक्शा सार्वजनिक गर्न र कालापानी लगायतका क्षेत्रबाट भारतीय सेना फिर्ता गर्न दबाब दिँदै आएका छन् ।
यो पनि पढ्नुहोस्ः
एमसीसी विरुद्ध नौ दलः प्रधानमन्त्री र सभामुखलाई ज्ञापन बुझाइयो, अब सडक संघर्ष
उपत्यकाका तीनै शहरमा यस्तो रह्यो एमसीसी विरुद्ध प्रदर्शन
