काडमाडौँ । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्याउने क्रममा हिमपहिरोमा परी तीन जना बेपत्ता भएका छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ ।
विभागका महानिर्देशक होमप्रसाद लुइटेलका अनुसार हेलिकप्टर र स्थलगत मार्गबाट बेपत्ताको तीव्ररूपमा खोजतलास तथा उद्धार कार्य भइरहेको छ । पुरिएकाको खोज तथा उद्धार कार्य निकै कठिन भइरहेको छ ।
अहिलेसम्म थप विवरण आएको छैन, विभागले सरोकारवाला निकायसँग समन्वय गरी खोजी गरिरहेको छ ।
खुम्बु पासाल्हामु गाउँपालिका–५ निवासी तीनैजना इमाजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका थिए ।
स्थानीय प्रशासन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, इमाजिन एक्सिपिडिसन कम्पनी र पर्वतारोहण सञ्चालक सङ्घ नेपालसँगको सहकार्यमा खोजी तथा उद्धार भइरहेको विभागले ज्ञिप्तिमार्फत जनाएको छ ।
विभागका अनुसार हालसम्म सगरमाथा आरोहणका लागि २० आरोही समूहका ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले आरोहण अनुमति लिएका छन् ।