काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमारले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि आफूलाई बचाइदिन पुनः प्रसाईंसँग हारगुहार गरेका छन् ।
दुर्गा प्रसाईंसँग गरेको कुराकानीको आफ्नो आवाज नभएको र अडियो सार्वजनिक गर्नेलाई साइबर अपराध अन्तर्गत मुद्दा हाल्ने चेतावनी दिएका ढाकाकुमारको अर्को अडियो सार्वजनिक भएको हो ।
व्यवसायी प्रसाईं र सांसद श्रेष्ठबीच भएको कुराकानीको दोस्रो अडियो पनि कपुरबोट डटकमले सार्वजनिक गरेको हो।
यसअघि आइतबार उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो। लगत्तै भोलिपल्ट सोमबार उनले सोही प्रसंगमा कुराकानी गरेको अर्को भिडिओ टेप सार्वजनिक भएको हो।
जसमा ढाकाकुमारले दुर्गा प्रसाईंको समूहमा रहेका यदु गौतमलाई फोन गरी आफूलाई बचाइदिन अनुरोध गरेका छन्।
‘दुर्गाजीले मेरो अडिओ (अघिल्लो) को बारेमा बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो। तपाईंले मध्यस्थता गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर’, अडिओमा ढाकाकुमारले भनेका छन्, ‘अब यो नहुने कुरालाई बढाएर के फाइदा ?’
उनीसँग फोनमा बोल्ने व्यक्तिले भने अहिले आफू गाडीमा भएको र यस विषयमा पछि कुरा गरौँला भन्दै फोन राख्छन्।
सार्वजनिक अडिओमा ढाकाकुमारका भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंलाई फोन गरेको कुराकानी पनि छ।
ढाकाकुमारका भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंलाई भनेका छन्, ‘दाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयो !’
यसपछि प्रसाईंले भनेका छन्, ‘यसमा मैले के गर्नुपर्छ त भन्नु नरु’ प्रसाईंले अगाडि भनेका छन्, ‘मैले अघि एउटा अन्तर्वार्तामा पनि भनेँ, माग्ने ढाकाकुमार श्रेष्ठको गल्ती होइन। माग्न लाउनेको पो गल्ती हो त। बरु मैले कसरी सहयोग गर्न सक्छु भन्नु न !’
ढाकाकुमारका भाइ भन्ने व्यक्ति भन्छन्, ‘जे भए पनि दाइले बीचमा पारे क्यार ! लाटोसोझो मान्छेलाई बीचमा पारे। हजुरले बुझिदिनुपर्यो। दाइले एकपटक भेट्ने भन्नुभएको छ।’
यसअघि ढाकाकुमारले स्वास्थ्यमन्त्री बन्न पार्टी सभापति (रवि लामिछाने) लाई बुझाउन भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेका थिए । त्यससम्बन्धी अडियो सार्वजनिक भएपछि उनले सो अडियो आफ्नो नभएको भन्दै अडियो सार्वजनिक गर्नेलाई कारबाही गर्ने धम्की दिएका थिए ।