काठमाडौं । नेकपा (मसाल) ले चितवनमा भइरहेको उपनिर्वाचन सिधै अमेरिकी साम्राज्यवादविरुद्धको संघर्ष भएको बताएको छ ।
शनिबार एक वक्तव्य प्रकाशित गरी मसालले चितवनको उपचुनाव सामान्य रुपले हेर्दा स्थानीय चुनाव जस्तो देखिएपनि राजनीतिक दृष्टिकोणले त्यसको ठूलो राष्ट्रिय महत्व रहेको स्पष्ट पारेको छ ।
मसालले चितवनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्मालाई मतदान गर्न पनि सम्पूर्ण चितवनका जनतासित अपील गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहद्वारा आज (चैत २५, २०७९मा) जारी विज्ञप्तिमा भनिएको छ :
नेकपा (मसाल) ले राष्ट्रिय जनमोर्चाका तर्फबाट चितवन निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार बन्नुभएको त्यसका उपाध्यक्ष का. जनकराज शर्मालाई मतदान गर्नको लागि त्यस निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताहरूसित अपील गर्दछ ।
चितवनको उपचुनाव सामान्य रुपले हेर्दा स्थानीय चुनाव जस्तो देखिन्छ । तर राजनीतिक दृष्टिकोणले विचार गर्दा त्यसको ठूलो राष्ट्रिय महत्व छ । किनभने त्यसले देशको राजनीतिमा नै ठूलो र गम्भीर असर पार्ने छ । त्यसको कारण यो हो, त्यो चुनाव सिधै अमेरिकी साम्राज्यवाद विरुद्धको सङ्घर्षसित जोडिएको छ । त्यहाँको चुनावमा अमेरिकी साम्राज्यवादपरस्त तत्वहरु खुला रुपले नै मैदानमा आएका छन् र उनीहरूको उद्देश्य नेपालको संसदमा नै प्रभुत्व कायम गरेर नेपालको सम्पूर्ण राज्यसत्तालाई नै अमेरिकी साम्राज्यवादी स्वार्थको पक्षमा प्रयोग गर्नु हो ।
चितवनको चुनावमा त्यस प्रकारको तत्वहरुको विजय हुन्छ भने त्यसबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा वृहत्तर राष्ट्रिय हितमा दीर्घकालीन रुपमा नै कुठाराघात पुग्ने कुरा अवश्यमभावी छ । त्यसकारण नेपालमा अमेरिकी साम्राज्यवादी शक्तिलाई पराजित गर्नुपर्ने आवश्यकता छ र त्यसका लागि चितवनको चुनावले विशेष महत्व राख्दछ । त्यसैले हाम्रो पार्टीले त्यो चुनावलाई विशेष महत्व दिएको छ । वास्तवमा त्यो चुनाव सामान्य चुनाव नभएर अमेरिकी साम्राज्यवाद विरुद्धको संघर्षको एउटा अङ्ग हो । त्यस अर्थमा नै त्यो चुनावले विशेष महत्व राख्दछ ।
हालै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी नेपालमा अमेरिकाका साम्राज्यवादी स्वार्थहरू पूरा गर्नको लागि बनेको संगठन हो । यो कुरा पनि दिनको उज्यालो झैँ छर्लगं छ कि त्यो संगठन सिआइएद्वारा सञ्चालित राजनीतिक संगठन हो । त्यसैले त्यो संगठनका पछाडि अमेरिकाको प्रभाव, शक्ति र साधनस्रोतहरुले काम गरिरहेका छन् । त्यही कारणले नै त्यो थोरै समयमा नै संसदभित्र र बाहिर पनि धेरै प्रभाव र शक्ति जुटाउन सफल भएको छ । अमेरिकी दबाबका कारणले नै नेपालका राजनीतिक शक्तिहरुले देशप्रति सम्झौतापरस्त नीति अपनाएको तथा प्रशासनले पनि त्यसप्रति दब्बु नीति अपनाएका थिए ।
त्यसैको परिणाम थियो कि नेपालको नागरिक नै नभएको भन्ने उजुरी परिसकेपछि पनि त्यसबारे छानवीन वा कानुनअनुसार कुनै कारवाही नगरिकन कथित स्वतन्त्र पार्टीका नेतालाई निर्वाचन आयोगद्वारा चुनावमा उम्मेदवार बन्नदिने तथा प्रतिनिधि सभामा सपथ ग्रहण गर्नेसम्म अवसर प्रदान गरियो । पछि उनलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने जुन काम गरियो, त्यसका पछाडि पनि अमेरिकी साम्राज्यवादको दबाबले नै काम गरेको कुरामा केही शंका रहन्न ।
त्यस सन्दर्भमा यसका लागि प्रचण्ड सरकालाई हामीले धन्यवाद दिएका थियौँ कि सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिसकेपछि पनि उनलाई (कथित स्वतन्त्र पार्टीका नेतालाई) मन्त्री बनाउन आएको दबाबका बाबजुद उनलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरिएको थियो । तर पछि उनको दोहोरो नागरिकता भएको कुरा प्रष्ट हुँदाहु्ँदै पनि त्यसबारे छानबिनको प्रकृयालाई अगाडि बढाउने तथा त्यसबारे मुद्दा चलाउनेबारे सरकारले गलत निर्णय गर्यो, त्यसकारण हाम्रो पार्टीले प्रचण्ड सरकारको कडा आलोचना गरेको छ । अब त्यो मुद्दा सर्वोच्च अदालतमा छ ।
हामीले आशा गर्दछौँ, पहिले अवैध नागरिकताको प्रश्नमा जस्तै अहिले दोहोरो राहदानीको मुद्दामा पनि सर्वोच्च अदालतले निष्पक्ष र सही फैसला दिएर न्यायपालिकाको सर्वोच्चतालाई प्रमाणित गर्ने छ । त्यसो भएमा चितवनका मतदाताहरूले पुनः अर्को उपचुनावमा जानुपर्ने हुने छ । बारम्बार त्यस प्रकारको कष्टबाट बच्नका लागि पनि अहिलेको चितवन क्षेत्र नम्बर २ का मतदाताहरुले तथाकथित स्वतन्त्र पार्टीका उम्मेदवारहरुलाई पराजित गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
अन्तमा, हामीले यो कुरा प्रष्ट गर्न चाहन्छौँ कि राष्ट्रिय जनमोर्चाका तर्फबाट चितवन निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार बन्नुभएका कामरेड जनकराज शर्माले अमेरिकी साम्राज्यवाद र प्रतिगमन समेतका विरुद्ध स्पष्ट र दृढ राजनीतिक धाराको प्रतिनिधित्व गर्नुहुन्छ । त्यसैले उहाँले आजको देशको राजनीतिक आवश्यकताको प्रतिनिधित्व गर्नुुहुन्छ । त्यसैले भारी मत दिएर उहाँलाई विजय गराउन चितवन क्षेत्र नम्बर २ का मतदाताहरूसित नेकपा (मसाल) ले अपील गर्दछ ।
२०७९ चैत्र २५ गते ।
मोहनविक्रम सिंह
महामन्त्री