भरतपुर । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले अमेरिकी साम्राज्यवादविरुद्ध भण्डाफोर गर्न पार्टीले चितवन क्षेत्र नं २ मा उम्मेदवारी दिएको बताउनुभएको छ ।
सोमबार मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै महासचिव भट्टले नेपालमा अमेरिकी साम्राज्यवादको चलखेल बढ्दै गएको बताउनुभयो । उहाँले अमेरिकाले प्रत्यक्ष रुपमा नेपालमा पार्टी खडा गरेर नेपालको सार्वभौमिकतामाथि चुनौती दिन खोजेको बताउनुभयो ।
‘पहिला यहीँका सत्ताधारी दलहरुलाई प्रयोग गरेर आफ्नो स्वार्थपूर्ती गर्ने अमेरिकी साम्राज्यवादले अब नेपालमा राजनीतिक दल नै खडा गरेको छ’ भट्टले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाबाट सञ्चालित पार्टी हो । यसले नेपालको सार्वभौमिकतालाई खत्तम पार्छ । त्यसकारण राजमोले भण्डाफोर गर्न चितवनमा उम्मेदवारी दिएको हो ।’
उहाँले नेपालको संसदबाट अमेरिकाको हस्तक्षेपमा एमसीसी पारित गरिएको आरोप पनि लगाउनुभयो । नेपालमा अमेरिकी सैनिक भित्र्याउने योजना एसपीपी असफल भएपछि राजनीतिक दल नै खडा गरेर नेपालको संसद कब्जा गर्ने योजना मुताविक रास्वपा नामक पार्टी खडा गरिएको उहाँको भनाई थियो ।चितवन २ मा राजमोले उपाध्यक्ष जनकराज शर्माको मनोनयन दर्ता गरेको छ ।
कोणसभामा बोल्दै उम्मेदवार शर्माले जनताका तमाम समस्याहरु समाधान गर्न स्पष्ट दृष्टिकोणसहितको राजनीतिक दलले चुनाव जित्नुपर्ने बताउनुभयो । उहाँले देशको सार्वभौमिकताको रक्षा पहिलो सर्त भएको पनि स्पष्ट पार्नुभयो ।
गत मंसिर ४ गतेको निर्वाचन जितेका रास्वपाका उम्मेदवार रवि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएपछि सांसद पद गुमेको थियो । सोही कारण चितवन २ मा वैशाख १० गते पुनः निर्वाचन हुँदै छ ।
लामिछानेले अमेरिका र नेपालको गरी दोहोरो राहदानी प्रयोग गरेको विषयमा समेत आजै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
राजमो उपाध्यक्ष जनकराज शर्माद्वारा चितवन २ मा उम्मेदवारी दर्ता