परासी । राष्ट्रिय जनमोर्चा नवलपरासीको आयोजनामा बर्दघाट नगरपालिकाका विभिन्न स्थानमा कोणसभा सम्पन्न भएका छन् ।
२०७९ चैत १४ गते मङ्गलबार बर्दघाट नगरपालिका वडा नं. ५ को पाल्डाँडा र बण्डाघोला तथा वडा नं. ४ स्थित बाढीपीडित धौलागिरी चोकमा समेत विरोधसभा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा राजमो प्रदेश सदस्य तिलकप्रसाद सुवेदी, राजमो जिल्ला अध्यक्ष किसनबहादुर अधिकारी, राजमो जिल्ला सल्लाहकार सदस्य रेम राना, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला अध्यक्ष जितबहादुर पौडेल र राजमो नवलपरासी जिल्ला सदस्य तथा बर्दघाट–५ का जनप्रतिनिधि शोभाकान्त लामिछानेले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरूले एउटा सरकार धान्न नसक्ने मुलुकमा प्रदेश सरकारको बोझ धान्न नसक्ने कुरा प्रष्ट भएको बताउनुभयो ।
‘कर कैयौँ गुणा बढी लिए पनि आखिर प्रशासनिक खर्चसमेत धान्न नसकेपछि वैदेशिक ऋण लिएर प्रदेशको सुविधामा खर्च गर्नुपर्ने बाध्यताको सिर्जना गरेर मुलुक र मुलुकबासीलाई ऋण थोपर्ने काम अत्यन्त गलत भएको हुनाले सङ्घीयता खारेज गर्नुको विकल्प छैन’ उहाँहरूको भनाइ थियो ।
सम्बोधनको क्रममा वक्ताहरूले मुलुक घरेलु सामन्तवाद र भारतीय साम्राज्यवादको मात्रै नभएर अमेरिकी साम्राज्यवादको समेत प्रत्यक्ष हस्तक्षेपकारी भूमिका देखिएको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको माध्यमबाट राष्ट्रिय राजनीतिमा हस्तक्षेप बढदै गएकोमा राष्ट्रिय स्वाधीनताका निम्ति सङ्घर्ष गर्नु आवश्यक रहेको वक्ताहरूले बताउनुभयो ।
