काठमाडौं । अमेरिकी सेनाको २२ सदस्यीय टोली आइतबार काठमाडौं आइपुगेको छ । काठमाडौंमा चैत १३ देखि १५ गतेसम्म हुने नेपाली सेना र अमेरिकी सेनाबीच द्धिपक्षीय छलफलमा सहभागी हुन अमेरिकी सेना नेपाल आएको हो ।
नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्ने तय भएको छ । अमेरिकी सेनाको प्यासिफिक कमाण्डका डिपुटी कमाण्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डमा टोली सहभागी हुनेछ ।
यस्तो छलफल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । गत वर्ष अमेरिकाको हवाईमा बैठक बसेको थियो ।
यसपटकको छलफल शान्ति सुरक्षा, मानवीय सहायता, विपद व्यवस्थापन र विषयवस्तु विज्ञताको आदान प्रदानमा केन्द्रीत हुने नेपाली सेनाले जानकारी दिएको छ ।
अमेरिकी सेनासँग हुने छलफलको सम्पुर्ण तयारी पूरा भइसकेको सेनाले जनाएको छ । छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवसहित नेपाली सेनाका उपरथीको नेतृत्वमा १४ सदस्यीय टोली सहभागी हुनेछन् ।